काठमाडौं : खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले स्थानीय कच्चा पदार्थको उपयोग बढाउँदै आयातित सामग्री न्यूनीकरण गर्न माग गरेका छन् ।
आइतबारबाट माइतीघर मण्डलामा सत्याग्रह सुरु गरेका उनले स्थानीय कच्चा पदार्थ प्रयोग गर्न संघीय ऐन वाधक भएकाले पटक-पटक लिखित तथा मौखिक अनुरोधलाई संघीय सरकारले बेवास्ता गरेपछि आफू सात बुँदे मागसहित सत्याग्रह बसेको बताए ।
स्थानीय स्रोत र सामग्री प्रयोग गर्नका लागि स्थानीय सरकार र प्रदेश सरकारले कानुन बनाउन नसक्ने स्थिति रहेको उनले बताए । उनले गाउँ घरमा खेर गएका कच्चा पदार्थ प्रयोग गर्ने हो भने आयातित सामग्रीलाई न्यूनीकरण गर्न सकिने उनको भनाइ छ । यसले स्थानीयलाई रोजगारी दिन सकिने र वातावरण, पर्यावरणमैत्री नगरपालिका, गाउँपालिका, वडा कार्यालयहरु बनाउन सकिने उनले बताए ।
उनले नगरपालिकाले बाँसको प्रवर्द्धनमा जोड दिइरहेको पनि बताए । बाँदरको समस्याले नागरिकहरु बसाइँ सरिरहेको र अबको पाँच वर्षपछि कुनैपनि पार्टीबाट उम्मेदवार हुँदा पनि बाँदर, बँदेल र नील गाईले मतदान गर्नुपर्ने अवस्था आउने उनले बताए । उनले प्लास्टिकजन्य वस्तुको व्यवस्थापन उत्पादन गर्नेले नै गर्नुपर्ने र त्यो गर्न नसके प्रत्येक स्थानीय तहमा १० प्रतिशत रकम अतिरिक्त उपलब्ध गराउनुपर्ने माग गरे ।
नगरप्रमुख भट्टराईले भुइँमान्छेको आवाज सरकारले नसुनेपछि संघ सरकारको आँगनमा आन्दोलन गरिएको उल्लेख गरे ।