मलेसिया : पलेशा गोबर्धनले दसौं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (जि ४) मा शुक्रबार कांस्य पदक जितेकी छन् ।
मलेसियाको कुचिङ शहरमा भएको प्रतियोगितामा पेरिस पारालिम्पिककी ऐतिहासिक कांस्य विजेता पलेशाले के–४४ क्याटेगोरीअन्तर्गत महिला ५७ केजीमुनि उज्वेकिस्तानकी जुरेवा कमोलालाई पराजित गरी कांस्य जितेको प्रशिक्षक कविराज नेगी लामाले जानकारी दिए ।
चीनको सांघाईमा अध्ययन गरिरहेकी पलेशा त्यत्तैबाट प्रतियोगितामा सहभागी हुन मलेसिया पुगेकी थिइन् ।
पलेशाको यो छैटौं आधिकारिक अन्तर्राष्ट्रिय पदक हो, जुन उपलब्धि नेपाली पारा खेलकुद क्षेत्रका लागि अत्यन्त गौरवको विषय बनेको छ ।
प्रतियोगितामा नेपालको टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य तथा नेपाल तेक्वान्दो संघका सदस्य रामचन्द्र श्रेष्ठको नेतृत्वमा व्यवस्थापन गरिएको थियो ।
पलेशासँगै नेपालबाट भरतसिंह महता, अमीर भ्लोन, रेनु तामाङ र कामना प्रसाईंलगायतका खेलाडीहरूले पनि प्रतियोगितामा सहभागिता जनाएका थिए ।
यस गौरवमय उपलब्धिप्रति हिमालयन एकेडेमी तथा नेपाली फुटबल एसोसिएसन मलेसिया परिवारले पलेशालाई बधाई ज्ञापन गर्दै भविष्यमा अझ उत्कृष्ट सफलता हासिल गर्न शुभकामना व्यक्त गरेको छ ।