काठमाडौं : भूमि व्यवस्था सहकारी तथा गरिबी निवरणमन्त्री बलराम अधिकारीले पछिल्लो समय निरन्तर सामना गरिरहेको प्रश्न हो– १ सय ३४ रोपनी जग्गा हडप्न घुस डिल गरेको आरोपको सत्यता के हो ? तर मन्त्री अधिकारी न यो आरोप स्वीकार गर्छन् न अस्वीकार । आफूमाथि उठेको प्रश्नमा मौन छन् ।
अधिकारीलाई लागेकै आरोप लागेका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता मन्त्रीबाट हटिसके । दुवैलाई कास्कीको पोखरास्थित लिची बगैंचाबारीको १ सय ३४ रोपनी जग्गा हडप्न घुस डिल गरेको आरोप लागेको छ । घुस डिल गरेको भनेर अडियो नै सार्वजनिक भएको छ । यससँगै विवादमा आएका गुप्ताले मन्त्री पदबाट राजीनामा दिए । तर बलराम ढुक्कले मन्त्रालय हाँकिरहेका छन् ।
प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक पछिल्लो समय निरन्तर बसिरहेको छ । भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकमाथिको छलफलमा अधिकारी निरन्तर उपस्थित छन् । हरेक दिन विपक्षी दलका सांसदहरू घुस डिल प्रकरण के हो भनेर सोध्छन् । तर, अधिकारी जवाफ दिँदैनन् ।
गत बिहीबारको बैठकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले अधिकारीलाई घुस डिल प्रकरणबारे प्रस्ट पार्न आग्रह गरेका थिए । तर, मन्त्री अधिकारी बोलेनन् ।
प्रतिनिधि सभाको बैठकमा समेत विपक्षी दलहरूले अधिकारीमाथि प्रश्न उठाउँदै आएका छन् । त्यहाँ पनि उनले जवाफ दिएका छैनन् ।
सार्वजनिक भएको अडियोमा लिची बगैंचाबारीको १ सय ३४ रोपनी जग्गा हडप्न घुस डिल गरेको सुनिन्छ । जहाँ सुजन लामा भन्ने व्यक्ति बिचौलियाका रूपमा रहेका सुनिन्छन् । सुजन लामाकै अगुवाइमा भएको घुस डिल प्रकरणको अडियोमा जग्गा हत्याउनकै निम्ति कास्कीका मालपोत प्रमुख फेर्ने प्रपञ्चसम्मका विषय सुनिन्छ । यस्तो गम्भीर आरोपमा जोडिन पुगेपछि गुप्ता मन्त्रीबाट हटेका हुन् ।
सार्वजनिक अडियोमा दाबी गरिएअनुसार लिची बगैंचाबारीको १ सय ३४ रोपनी जग्गा हडप्ने योजनासहितको फाइल मालपोत कार्यालयमा दुई वर्षसम्म अड्किएको थियो । बिचौलियाले आफूअनुकूल मालपोत अधिकृत लगेर जग्गा हडप्न खोजेका थिए । यो योजनामा गुप्ता र अधिकारीसमेत संलग्न रहेको आरोप लागेको छ ।
सार्वजनिक अडियोमा दाबी गरिएअनुसार १ सय ३४ रोपनी जग्गा हडप्न बिचौलियाले मालपोत कार्यालय कास्कीमा तीन जना कर्मचारीको सरुवा गराएका थिए । यसक्रममा मालपोत कार्यालयमा कागजातसहित निवेदन दिने काम लामाले गर्दै आएका थिए । यो विषयमा मन्त्रीदेखि विभिन्न राजनीतिक नेतासमेत जोडिएको भनेर प्रश्न उठ्दै आएको छ ।
सरोकारवाला विभिन्न व्यक्तिको नाममा रहेको जग्गा हडप्न घुस डिल गरेको आरोप लागेपछि मौन रहनुलाई गम्भीर रूपमा लिनुपर्ने बताउँछन् । विधिको शासन, सुशासन र सभ्य समाजका निम्ति आरोप लाग्ने र प्रस्टीकरणसमेत नदिने अवस्था उचित नरहेको बताउँछन् ।
देशमा सुशासन र कानुनी राज्य चाहनेहरूका लागि झस्क्याउने प्रवृति त्याग्न र के भएको हो प्रस्ट जवाफ दिन आग्रह गर्छन् माओवादीका प्रमुख सचेतक पाण्डे । उनी भन्छन्, ‘यदि अडियो गलत हो भने सार्वजनिक गर्नेमाथि छानबिन होस् । होइन सही हो भने मौन रहँदैमा उन्मुक्ति पाउने भन्ने हुँदैन ।’