काठमाडौंं : नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) द्वारा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’मा अपेक्षा गरे भन्दाबढी दर्शकको आगमनले प्रर्दशनी स्थलमा रौनक छाएको छ । ५ दिन खुल्ने भनिएको एक्स्पोमा अवलोकनकर्ताहरूको मागलाई थोरै समयमा सम्बोधन गर्न गाह्रो भएपछि नाइमाले एक दिन प्रदर्शन अवधि थप गरेको हो ।
आफूलाई मनपर्ने सवारीसाधनहरू अवलोकन गर्ने, सोधपुछ गर्ने, बुकिङ गर्ने, साथै खरिद गर्नेहरूको घुइँचो रहेको प्रदर्शनी शनिबारको मुसलधारे पानीमा पनि निर्वाध सञ्चालन भयो । अरु दिन कार्यालयको कामकाजमा व्यस्त रहने व्यक्तिहरूले शनिबार उत्साहकासाथ प्रदर्शनीमा सहभागिता जनाएका थिए ।
एक्स्पोका प्रारम्भिक तीन दिनमा सर्वसाधरणका साथै वरिष्ठ कलाकार, कुटनीतिक नियोगका कर्मचारी, सरकारी तथा गैरसरकारी संस्थाका व्यक्तिहरू, व्यापारी लगायत समाजका सबै तहका व्यक्तिले उपस्थिति जनाएको आयोजकले जनएको छ । प्रदर्शनीको पहिलो दिन पन्ध्र हजार, दोश्रो दिन साढे तेह्र हजार, तेस्रो दिन साढे उन्नाइस हजार र शनिबार एक्काइस हजार पाँच सय अवलोकनकर्ताहरूले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५मा सहभागिता जनाएका छन् ।
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५मा ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरू सहभागी भएका छन् ।