मुलुकको राजनीतिक उचारचढाबका कारण चालु आर्थिक वर्ष २०७८/०७९ का लागि दुई पटक बजेट आयो । गएको १५ जेठमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वले अध्यादेशबाट बजेट ल्याएका थिए । ७ जेठमा प्रतिनिधिसभा दोस्रो पटक विघटन गरेर ओलीले अध्यादेशबाट बजेट ल्याए । तर दोस्रो पटकको संसद् विघटन पनि सर्वोच्च अदालतले पुनस्र्थापना गरिदियो । संसद् पुनस्र्थापना पछि राजनीतिक समीकरण बदलियो । ओली प्रधानमन्त्रीबाट पदमुक्त भए । पाँच दलीय गठबन्धनको बहुमतबाट नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले २९ असारमा प्रधानमन्त्री नियुक्त भए । देउवा प्रधानमन्त्री भएपछि फेरि अर्को बजेट आयो । अघिल्लो सरकारको कार्यक्रमको निरन्तरता भनेर अर्थमन्त्री जनार्दन शर्माले प्रष्टोक्ति दिएपनि बजेट संशोधन गरिएको थियो ।
संशोधित बजेटको आकार घटेको छ भने आर्थिक बृद्धिदरको लक्ष्य संशोधन गरिएको छ । ओली सरकारले ६.५ प्रतिशत आर्थिक बृद्धिदर हुने लक्ष्य लिएको थियो । वर्तमान सरकारले भने सात प्रतिशतको बृद्धिदर लक्ष्य राखेको छ । बजेटको आकार र आर्थिक बृद्धिदर मात्रै नभएर वर्तमान सरकारले अघिल्लो सरकारले ल्याएका कार्यक्रमहरु समेत खारेज गरेको छ । अध्यादेश बजेट प्रतिस्थापन गर्दै ल्याइएको कार्यक्रमबाट विशेषगरी लोकरिझ्याइलाई जोड दिएको छ । ओली सरकारले घोषणा गरेका १४ सय बढी सडक प्रदेश तथा स्थानीय तहलाई हस्तान्तरण वा खारेजी गरिनुले पनि बजेटमा राजनीतिकरण झल्कन्छ । तर एउटा समानता भने कायम छ– यो सरकारको जोड पनि मतदाता रिझाउने नै हो ।
न्यून आय भएकाहरुलाई दश हजार अनुदान दिने, विभिन्न आन्दोलनमा ज्यान गुमाउनेको परिवारलाई तीन हजार मासिक दिने जस्ता कार्यक्रम मार्फत् बजेटले मतदाता रिझाउने प्रयास लुकाएको छैन । नेपालका लागि सरकार बदलिरहनु र हरेक सरकारले आफ्नो रंग दिने प्रयास गर्नु नियति नै बनेको छ । त्यसैले नेपाली जनताले पाँच वर्षे स्थीर सरकारका निम्ति वाम गठबन्धनलाई मतदान गरेका थिए । तर तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको देखिएको विवादका कारण साढे तीन वर्षमै सरकार बदलिन पुगेको छ भने बजेटमा राजनीतिक रंग पोत्ने प्रयास समेत भएको छ । जबकी बजेट भनेको मुलुकको आय र व्यय व्यवस्थित र प्रभावकारी बनाउनु हो । तर आफ्नै गल्तीबाट बजेट जनताका निम्ति बाँडफाँड गरिएजस्तो प्रचार र प्रयास देखिन्छ । जुन नियति बदल्नु आवश्यक छ । भोटका निम्ति नभएर मुलुकको आवश्यकता र अवस्थाका आधारमा बजेट ल्याइनुपर्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies