काठमाडौँ : चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना सरकारले रू ८५ अर्ब १९ करोड आम्दानी गर्दा रू ४६ अर्ब ३० करोड खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार चालू आवको पहिलो महिना वार्षिक लक्ष्यको पाँच दशमलव ५६ प्रतिशत आम्दानी र दुई दशमलव ३६ प्रतिशत खर्च भएको हो ।
सरकारले चालू आवमा १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख राजस्व उठाउने लक्ष्य राखेको छ । साउन मसान्तसम्ममा कर राजस्वबाट रू ८० अर्ब ६७ करोडभन्दा बढी अर्थात् वार्षिक लक्ष्यको छ दशमलव ०९ प्रतिशत र गैरकर राजस्वबाट तीन अर्ब ७९ करोड ५० लाख अर्थात् वार्षिक लक्ष्यको दुई दशमलव ४६ प्रतिशत सङ्कलन भएको विवरणमा उल्लेख छ । यस्तै, वैदेशिक अनुदानबाट ४२ करोड १९ लाख र अन्य प्राप्तिबाट रू ३० करोड ८९ लाख राजस्व सरकारी खातामा जम्मा भएको छ । यस वर्ष १३ खर्ब २५ अर्ब ५८ करोड ३९ लाख कर राजस्व, एक खर्ब ५४ अर्ब ४१ करोड ६१ लाख गैरकर राजस्व र ५३ अर्ब ४४ करोड ६९ लाख वैदेशिक अनुदान उठाउने सरकारको लक्ष्य छ ।
चालू आवका लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट ल्याइएकामा साउन मसान्तसम्ममा ४६ अर्ब ३० करोड ६१ लाख बराबर खर्च भएको छ । चालूतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड बजेट विनियोजन भएकामा हालसम्म एक दशमलव ५६ प्रतिशत अर्थात् १८ अर्ब ४७ करोड ९८ लाख बराबर खर्च भएको महालेखाले जनाएको छ ।
यस्तै, पुँजीगत शीर्षकमा चार खर्ब सात अर्ब ८८ करोड ८० लाख विनियोजन भएकामा शून्य दशमलव १८ प्रतिशत अर्थात् ७२ करोड ६३ लाख मात्रै खर्च भएको छ । पहिलो महिनामा सबैभन्दा धेरै खर्च वित्तीय व्यवस्था शीर्षकमा भएको छ । चालू आवका लागि वित्तीय व्यवस्था शीर्षकमा तीन खर्ब ७५ अर्ब २४ करोड २० लाख बराबर विनियोजन भएकामा साउन मसान्तसम्म सात दशमलव २२ प्रतिशत अर्थात् २७ अर्ब १० करोड खर्च भएको छ ।