रौतहट : फतुवा विजयपुर नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ५६ करोड ३२ लाख ९५ हजार १ सय ५१ रुपैयाँको बजेट पारित गरेको छ । शनिबार सम्पन्न नवौं नगरसभामा वडा नं. ९ का वडा अध्यक्ष राकेश यादवले बजेट प्रस्तुत गरेका हुन् ।
प्रस्तुत बजेटमध्ये २० करोड ६८ लाख ७१ हजार रुपैयाँ पूँजीगत खर्चतर्फ र ३५ करोड ६४ लाख २४ हजार १ सय ५१ रुपैयाँ चालु खर्चतर्फ विनियोजन गरिएको छ । शिक्षा, स्वास्थ्य, सडक, पूर्वाधार, कृषि, पोषण र रोजगारीलाई बजेटमा विशेष प्राथमिकता दिइएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत प्रसाद यादवका अनुसार समृद्ध पालिका निर्माणका लागि आर्थिक तथा सामाजिक विकास, पूर्वाधार विस्तार, वन–वातावरण तथा विपद् व्यवस्थापन, संस्थागत सेवा प्रवाह, भूमिहीन सुकुम्बासी, पोषण, रोजगारी र लघु उद्यमजस्ता शीर्षकमा बजेट छुट्याइएको छ ।
यस वर्ष वडा नं. ९, १० र ११ का ८४ जना भूमिहीन सुकुम्बासीलाई जग्गा दर्ता प्रमाण–पुर्जा वितरण गरिनेछ । साथै वडा नं. १ देखि ११ सम्मका भूमिहीनहरूको सर्वेक्षण तथा तथ्यांक संकलन गर्ने योजना पनि नगरपालिकाले अघि सारेको छ ।
लेखा अधिकृत कामेश्वर सहनीका अनुसार शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, कृषि र पशु सेवालाई बजेटमा विशेष प्राथमिकता दिइएको छ ।
नगरसभा कार्यक्रममा वडा नं. १ देखि ९ सम्मका वडा अध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत भरत प्रसाद यादव, लेखा अधिकृत कामेश्वर सहनी, प्रदेश सभा सदस्य प्रत्याशी तथा समाजसेवी मोहम्मद शेराज, कर्मचारी, पत्रकार र स्थानीय बुद्धिजीवीहरूको उपस्थिति थियो ।