विराटनगर : ग्रामीण विकास लघुवित्त वित्तीय संस्था, सञ्चालन तथा सुपरिवेक्षण कार्यालय विराटनगरले एघारौं वार्षिकोत्सव मनाएको छ ।
शुक्रबार संस्थाले ३८ जना उत्कृष्ट महिला ऋणी सदस्यलाई नगद पुरस्कारसहित सम्मान गरेको हो । साविकका पाँच क्षेत्रीय ग्रामीण विकास बैंकहरु २०७१ साउन ३० गतेदेखि ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु भएको थियो ।
हाल संस्थाले देशभर १८९ शाखामार्फत सेवा प्रदान गर्दै आएको छ । वार्षिकोत्सवको अवसरमा विराटनगर कार्यालय अन्तर्गतका ४२ वटा शाखाहरुबाट अनुशासित कारोबार गर्ने, कर्जा तथा बचतको सही सदुपयोग गरी उदाहरणीय व्यवसाय सञ्चालन गर्न सफल ३८ जना महिला सदस्यलाई सम्मान गरेको हो ।
संस्थाका विराटनगर कार्यालय प्रमुख गोविन्द प्रसाद ढुंगेलको सभापतित्वमा सम्पन्न भएको थियो भने नायव कार्यकारी प्रमुख दिपक प्रसाद पाण्डेले कार्यक्रमको उद्घाटन गरे ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पाण्डेले संस्था नाफामुखीभन्दा सेवामुखी भावनाले काम गरिरहेको बताए । उनले संस्थाको लक्ष्य, नीति तथा सदस्यहरुलाई थप सहजीकरण गर्न भविष्यमा लिइने रणनीतिबारे प्रकास पारेका थिए । कार्यक्रममा पुरस्कृत सदस्यहरुले संस्थाबाट प्राप्त सरल कर्जा र वित्तीय सेवाले आफ्नो आयआर्जन बढाउन र विगतको गरिबीबाट मुक्त हुन महत्वपूर्ण सहयोग पुगेको बताएका थिए ।