२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

व्यवसायीसँग जबरजस्ती चन्दा उठाउने कार्यक्रम र योजना नरहेको विप्लव माओवादीको स्पष्टोक्ति

ADV
२०८१ जेठ २४ गते ०६:४०
व्यवसायीसँग जबरजस्ती चन्दा उठाउने कार्यक्रम र योजना नरहेको विप्लव माओवादीको स्पष्टोक्ति

काठमाडौं : नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले तत्कालका लागि वैदेशिक रोजगार व्यवसायीसँग चन्दा उठाउने कुनै कार्यक्रम र योजना नरहेको बताएको छ । वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चसँगको भेटघाट तथा छलफलमा पार्टीका महासचिव विप्लवले उक्त जानकारी गराएका हुन् ।

उक्त पार्टीको नाम लिएर वैदेशिक रोजगार व्यवसायी संघ र व्यवसायीलाई केही व्यक्तिले पार्टीका लागि भन्दै ठूलै रकम संकलन गरिदिन दबाब दिएपछि मञ्चले महासचिव विप्लवलाई भेटेर चन्दा संकलनबारे धारणा माग गरेको थियो । भेटमा महासचिव विप्लवले स्वेच्छिकबाहेक अन्य कुनै पनि तरिकाबाट वैदेशिक रोजगार व्यवसायीसँग चन्दा माग नगरिएको बताएको मञ्चका अध्यक्ष धनलाल जैसीले जानकारी दिए । 

यसअघि भूमिगत अवस्थामा रहँदा उक्त पार्टीले नेपालमा रहेका बहुराष्ट्रिय तथा वैदेशिक लगानीका कम्पनीसहित वैदेशिक रोजगार व्यवसायीलाई पत्र पठाएर चन्दा माग्ने गरेको थियो । चन्दाको दबाबकै कारण त्यतिबेला व्यवसायी र वैदेशिक रोजगार विभागका महानिर्देशक कार्यालय छोडेर बाहिर बस्ने गरेका थिए । खासगरी चाडपर्व नजिकिँदै जाँदा चन्दा अभियानले तीव्रता पाउने र चेतावनीयुक्त सन्देश आउने व्यवसायीको गुनासो थियो । 

भेटमा महासचिव विप्लवले यसपटक चन्दा संकलनको कार्यक्रम नरहेकाले स्वेच्छिकबाहेक कुनै पनि प्रकारको चन्दा नदिन आग्रह गर्दै चन्दा माग गरिएकोबारे पार्टीको च्यानलमा छानबिन गर्नेसमेत आश्वासन दिएका छन् ।

भेटमा वैदेशिक रोजगारमाथिको अत्यधिक निर्भरता कम गर्न युवायुवतीलाई स्वदेशमा नै रोजगार र स्वरोजगार बनाउने विषयमा छलफल गरिएको पनि अध्यक्ष जैसीले जानकारी दिए । 

तत्कालीन केपी शर्मा ओलीको सरकारका पालामा भूमिगत कार्यशैलीबाट खुला राजनीतिक गतिविधिमा आएको उक्त पार्टीले सांसद र मन्त्रीका लागि मात्रै नभइ समाजवादका लागि २०८४ को चुनावमा भाग लिन लागेको बताएको छ । २०८४ को चुनावलाई पार्टीले समाजवादी अभियानका रुपमा प्रयोग गर्न लागेको महासचिव विप्लवले बताएका छन्  ।

छलफलमा अध्यक्ष जैसीसहित महासचिव कुन्छा दोर्जे दिमदोङ, कार्यसमिति पदाधिकारी तथा कार्यसमिति सदस्यहरू सहभागी थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise