काठमाडौं : नेपाल पर्वतारोहण संघको आगामी निर्वाचनमा महासचिव पदका स्वतन्त्र उम्मेदवार शिवबहादुर सापकोटाले उम्मेदारी घोषणा गरेका छन् । सर्वोच्च शिखर सगरमाथासहित थुप्रै आरोहण गरेका साहसी आरोही शिवबहादुर सापकोटा महासचिवमा बलियो दावेबारका रूपमा उत्रिएका छन् । भदौ ७ गते हुने निर्वाचनमा सापकोटालाई पर्वतीय पर्यटनसँग सम्बन्धित व्यवसायी, मजदुर, आरोही, गाइड तथा शुभचिन्तकले साझा स्वतन्त्र उम्मेदवारका रूपमा अघि सारेका छन् ।
रामेछापको सुनापातीमा जन्मिएका सापकोटा बाल्यकालदेखि नै पहाड र प्रकृतिसँग आत्मीय सम्बन्ध गाँसिएका व्यक्ति हुन् । निरन्तर मेहनत, संघर्ष र साहसमार्फत उनले पर्वतारोहणलाई क्षेत्रमा लामो समयदेखि सक्रिय छन् ।
पर्वतीय पर्यटन र आरोही समुदायको अधिकार हितमा निरन्तर सक्रिय सापकोटा विभिन्न संघसंस्थामा नेतृत्वदायी भूमिकामा रहँदै आएका छन् । उनी नेपाल पर्वतारोहण संघ एनएमएको कार्यकारी बोर्ड सदस्यसमेत भइसकेका छन् भने एभरेस्ट समिटियर्स एसोसिएसनका महासचिवसमेत हुन् । सगरमाथा आरोही संघमा महासचिव रहँदा उनले नेपाल सरकार सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पहल गरी गठन भएको कार्यदलको सदस्यमा रही आरोहीहरूलाई सम्मानसहित पहिचान गराउन, परिचयपत्र र ब्याज उपलब्ध गराउन उल्लेख्निय भूमिका समेत खेलेका थिए । राष्ट्रपतिबाट प्रदान गरिने सगरमाथा पदक र जनसेवा श्री पदकजस्ता प्रतिष्ठित सम्मान प्राप्त गरिसकेका छन् ।
उनले महासचिवमा विजयी भए सचिवालयलाई चुस्त, पारदर्शी र परिणाममुखी बनाउने ,आधुनिक प्रविधि र आरोही, श्रमिक र व्यवसायीका समस्या समाधानका लागि नीतिगत पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यस्तै, दीर्घकालीन नीति सुधार गर्ने, केन्द्रीय कार्यालयमा २४ घण्टा आपतकालीन सहायता डेस्क स्थापना, आरोही कल्याणकारी कोषलाई व्यवस्थित गर्दै दिवंगत वा घाइते सदस्यका परिवारलाई आर्थिक शैक्षिकजस्ता कार्यक्रम बनाउने बताए । उनले भने, ‘मेरो संकल्प व्यक्तिगत पद वा प्रतिष्ठाका लागि होइन, सदस्य र संस्थाको हितका लागि हो । तपाईंहरूको सुझाव नै मेरो एजेन्डा हुनेछ, तपाईंहरूको विश्वास नै मेरो शक्ति हुनेछ ।’