काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्सले राउन्ड टेबल नेपालसँगको सहकार्यमा सगरमाथाको फोहोर संकलन गरेको छ । प्रोजेक्ट केयर अभियानअन्तर्गत सगरमाथामा थुप्रिएका ५ हजार किलोग्राम फोहोर संकलन गरिएको हो ।
नेपाल लाइफको केन्द्रीय कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहबीच राउन्ड टेबल नेपालका अध्यक्ष प्रवेश अग्रवालले फोहोर संकलनसम्बन्धी प्रतिवेदन कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीलाई हस्तान्तरण गरेका थिए ।
नेपाल लाइफले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सगरमाथा सफाइ अभियान सञ्चालन गर्न राउन्ड टेबल नेपाल तथा प्राविधिक पार्टनर सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी)सँग सहकार्य गरेको प्रमुख कार्यकारी अधिकृत पराजुलीले बताए । उनले पहिलो चरणमा ५ हजार किलोग्राम फोहोर संकलन गर्न सफल भएकामा यससँग आबद्ध सबै सरोकारवालालाई धन्यवाद ज्ञापन गरेका थिए ।
राउन्ड टेबल नेपालका अध्यक्ष प्रवेश अग्रवालले सगरमाथा क्षेत्रमा यसपटक ५ हजार किलो फोहोर संकलन गरिएको र आगामी दिनमा २५ हजार किलो फोहोर व्यवस्थापन गर्ने योजना बनाइएको बताएका थिए ।