२०८२ भदौ ७ गते शनिवार / Aug 23 , 2025 , Saturday
२०८२ भदौ ७ गते शनिवार
Ads

आठ महिनामा तीन हजारभन्दा बढीले अवलोकन गरे चुरिया माईसुरुङमार्ग

shivam cement
मध्यान्ह
२०८२ भदौ ७ गते १७:३९
आठ महिनामा तीन हजारभन्दा बढीले अवलोकन गरे चुरिया माईसुरुङमार्ग

बागमती : दक्षिण एसियाकै पहिलो मानिएको हेटौँडा उपमहानगरपालिका-१५ स्थित चुरिया माई सुरुङमार्ग घुम्न आउनेको सङ्ख्या उल्लेख्य देखिएको छ । हेटौँडा उपमहानगरपालिका अनुसार आठ महिनामा तीन हजारभन्दा बढीले सुरुङमार्ग अवलोकन गरेका छन् । 

सुरुङमार्ग अवलोकनका लागि धेरैजसो विद्यार्थी आउने गरेको सुरुङ मार्गको व्यवस्थापन र सुरक्षामा खटिएका उपमहानगरपालिका नगर प्रहरी प्रमुख नेत्रप्रसाद ढकालले जानकारी दिए । शुक्रवार सार्वजनिक बिदाका दिन विद्यार्थी तथा सर्वसाधारणको सङ्ख्या बाक्लो हुने उनको भनाइ छ । 

लामो समयसम्म जीर्ण रहेको सुरुङमार्ग पुन:निर्माणपछि पर्यटकका लागि खुला गरिएको हो । कूल रु. चार करोड ५७ लाखमा प्रदेश यातायात पूर्वाधार निर्देशनालयले सुरुङको पुन:निर्माण गरी व्यवस्थापनका लागि हेटौँडा उपमहानगरपालिकालाई हस्तान्तरण गरेको थियो । सुरुङमार्ग विसं २०८१ पुस ८ गते उद्घाटन गरी सर्वसाधारणका लागि खुला गरिएको थियो । 

हेटौँडा उपमहानगरपालिकाका राजस्व शाखा प्रमुख मनोजकुमार सुवेदीले पर्यटकबाट रु एक लाख १७ हजार राजस्व संकलन गरिएको बताए । चालु आर्थिक वर्षको साउनमा मात्रै ४५५ जना पर्यटकले सुरुङमार्ग अवलोकन गरेको र त्यसबापत रु. २० हजार ५५० राजस्व संकलन भएको छ । 

सुरुङमार्ग अवलोकनका लागि नेपालीलाई प्रतिव्यक्ति रु. ५०, विदेशीलाई प्रतिव्यक्ति रु. १००, विद्यार्थीलाई प्रतिव्यक्ति रु. २० निर्धारण गरिएको छ ।

मधेस प्रदेशको बारा र बागमती प्रदेशको मकवानपुरलाई जोड्ने उक्त सुरुङमार्ग विसं १९७४ मा तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरको पालामा निर्माण गरिएको थियो । सो सुरुङ मार्गबाट विसं २०२० सम्म सवारीसाधन सञ्चालन हुँदै आएका थिए । सुरुङ मार्गको विसं २०७९ वैशाख १९ गते जीर्णोद्धार सुरु भएको थियो ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise