काठमाडौँ : भारतको पूर्वी राज्य बिहारमा अटोरिक्सा र ट्रक आपसमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । शनिवार बिहारको राजधानी पटनाको दनियावन–हिल्सा राजमार्गमा उक्त दुर्घटना भएको हो ।
“शनिवार विपरीत दिशाबाट आउँदै गरेको अटोरिक्सालाई ट्रकले ठक्कर दिँदा सात जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य तीन जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ,” एक वरिष्ठ प्रहरी अधिकारीले भने। अटोरिक्सा चालकसहित यसमा सवार यात्रुहरू हताहत भएका प्रहरीले जनाएको छ ।
तीन जनालाई उपचारका लागि अस्पताल लगिएको र उनीहरूको अवस्था गम्भीर रहेको जनाइएको छ । मृत्यु भएका १० जनामध्ये ९ जना महिलासहित अटोरिक्सा चालक रहेको र बाँकी ट्रकमा आएका व्यक्ति रहेको अधिकारीहरूले बताएका छन् ।
ठक्करबाट अटोरिक्सामा पूर्णरुपमा क्षति भएको छ । दुर्घटनापछि फरार रहेका ट्रक चालकको लापरबाहीका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
दुर्घटनाको कारण पत्ता लगाउन प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान गर्न आदेश दिएको छ । ट्रक चालकलाई पक्राउ गर्न प्रहरी टोली परिचालन गरिएको छ ।