काठमाडौं : प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरमाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ । बालबालिकाको अवैध ओसारपसारसम्बन्धी घटनामा उनी जोडिएकी रानामाथि नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो ।
प्रिजनर्स असिस्टेन्ट (पिए) नेपाल नामक गैरसरकारी संस्थाबाट अवैध रूपमा बालबालिका ओसारपसार भएको सरकारी प्रतिवेदनले नै औंल्याएको थियो । सो संस्थामा राना कार्यकारी प्रमुखको जिम्मेवारीमा थिइन् । सार्वजनिक सरोकारको विषयमा उपसभामुखको नाम जोडिएकाले अनुसन्धान गर्नुपरेको प्रहरीले जनाएको छ ।
यही भदौ ५ गते बसेको प्रतिनिधिसभाको बैठकमा एमाले सांसद तथा पार्टीका केन्द्रीय सचिव योगेश भट्टराईले बालबालिकाको अवैध ओसारपसारमा उपसभामुख राना सम्बद्ध संस्था पिए नेपालको संलग्नता रहेको दाबी गरेका थिए । २०७२ साल कात्तिक १७ गते सिफलस्थित बाल संगठनको बालगृहबाट पाँच बालबालिका हराएको विषयलाई अहिलेसम्म गुपचुप राखेर रानामाथि कुनै कानुनी कारबाही गरिएको थिएन ।
सार्वजनिक सरोकारको विषयमा उनको नाम जोडिएपछि ब्युरोले आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का प्रवक्ता प्रहरी उपरीक्षक युवराज खड्काले बताए । ‘उपसभामुखज्यू जोडिएको बालबालिकाको अवैध ओसारपसारको विषयमा अनुसन्धान सुरु गरिएको छ,’ खड्काले भने, ‘अनुसन्धान गर्ने आधिकारिक निकाय प्रहरी नै भएकाले उहाँमाथि आवश्यक अनुसन्धान अघि बढेको हो ।’
उपसभामुख राना जोडिएको बालबालिकाको अवैध ओसारपसारको विषयमा सार्वजनिक सञ्चारमाध्यमहरूले छिटपुट लेखे पनि प्रहरीमा पुग्ने अवस्था आएको थिएन । सरकारले हटाउन लागेपछि राना जोडिएको घटना प्रहरीको अनुसन्धानसम्म पुगेको हो । सरकारले उनलाई हटाउन संसदमा दुई तिहाइ बहुमतको कसरत गरिरहेको छ । संवैधानिक परिषदमा सरकार पक्षको प्रस्ट बहुमत नभएपछि उनीमाथि हटाउन खोजिएको रास्वपाको आरोप छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले सत्तारूढ दलहरूले उपसभामुख पदको अवमूल्यन गर्दै बालुवाटार र बुढानीलकण्ठको बैठकबाट बारम्बार आक्रमण भइरहेको भन्दै आपत्ति जनाए ।
२०७२ माघ १८ गते बालगृहका एक कर्मचारीले बालकल्याण समितिमा दिएको बयानमा पिए नेपालसँग सम्बन्धित व्यक्तिहरूले ती बालबालिकालाई जबर्जस्ती लिएर गएको बयान दिएका थिए । त्यतिबेला सरकारले उच्च अदालतका न्यायाधीशको अध्यक्षतामा गठन भएको जाँचबुझ आयोगले पिए नेपाल र त्यसकी कार्यकारी निर्देशक रानाको संलग्नता पुष्टि गर्दै प्रतिवेदन पेस गरेको थियो ।