२०८२ भदौ ९ गते सोमवार / Aug 25 , 2025 , Monday
२०८२ भदौ ९ गते सोमवार
Ads

बंगलादेशद्वारा पाकिस्तानलाई सन् १९७१ को नरसंहारबारे माफी माग्न आग्रह

shivam cement
मध्यान्ह
२०८२ भदौ ९ गते १३:१९
बंगलादेशद्वारा पाकिस्तानलाई सन् १९७१ को नरसंहारबारे माफी माग्न आग्रह

काठमाडौंः बंगलादेशले पाकिस्तानलाई सन् १९७१ को नरसंहारका लागि आधिकारिक माफी माग्न आग्रह गरेको छ ।

बंगलादेशका विदेश मामिला सल्लाहकार मोहम्मद तौहिद हुसेनले आइतबार ढाकामा भएको द्विपक्षीय बैठकमा पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दारसँग यो विषय उठाएका थिए ।

‘सन् १९७१ मा पाकिस्तानले गरेको नरसंहारबारे औपचारिक र आधिकारिक माफी माग्नु, सम्पत्तिको विभाजन, सन् १९७० को चक्रवात पीडितका लागि विदेशी सहायता हस्तान्तरण, फसेका पाकिस्तानीहरूको स्वदेश फिर्ती जस्ता लामो समयदेखि बाँकी रहेका ऐतिहासिक विषयहरूलाई समाधान गर्नु बंगलादेश–पाकिस्तान सम्बन्धलाई स्थायी र अग्रगामी बनाउन आवश्यक ठोस आधार हो’, बैठकपछि जारी विज्ञप्तिमा बंगलादेशको विदेश मन्त्रालयले उल्लेख गरेको छ ।

पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दार आफ्ना बंगलादेशी समकक्षीको निमन्त्रणामा अगस्ट २३ देखि २४ सम्म बंगलादेशको दुई दिने आधिकारिक भ्रमणमा थिए । भ्रमणका क्रममा दिउँसो उनले बंगलादेशका प्रमुख सल्लाहकार मुहम्मद युनुससँग भेट गरेका थिए ।

सो अवसरमा बंगलादेश र पाकिस्तानबीच एउटा द्विपक्षीय सम्झौता तथा पाँचवटा समझदारीपत्र (एमओयु) मा हस्ताक्षर गरिएको छ । आइतबार दिउँसो ढाकामा भएको हस्ताक्षर समारोहमा बंगलादेशका विदेश मामिला सल्लाहकार मोहम्मद तौहिद हुसेन र पाकिस्तानका विदेशमन्त्री इशाक दार उपस्थित थिए ।

सम्झौतामा दुवै देशका सरकारी र कूटनीतिक पासपोर्ट वाहकका लागि भिसा छुटको व्यवस्था गरिएको छ । साथै, दुवै देशबीच व्यापारसम्बन्धी संयुक्त कार्य समूहको गठन, सांस्कृतिक आदानप्रदान, विदेश सेवा एकेडेमीबीच सहकार्य, राज्य सञ्चालित समाचार एजेन्सीहरूबीच सहकार्य, बंगलादेश इन्स्टिच्युट अफ इन्टरनेसनल एन्ड स्ट्रेटेजिक स्टडिज र पाकिस्तान इन्स्टिच्युट अफ स्ट्रेटेजिक स्टडिज इस्लामाबाद बीच सहकार्य गर्ने विषयमा पनि समझदारीपत्रमा हस्ताक्षर गरिएको छ ।

यसअघि, पाकिस्तानका वाणिज्यमन्त्री जाम कमल खान र बंगलादेशका वाणिज्य सल्लाहकार एस.के. बशीर उद्दीनबीच बिहीबार ढाकामा आर्थिक सहयोग, आपसी लगानी प्रवर्द्धन तथा द्विपक्षीय व्यापार सम्बन्ध सुदृढीकरणबारे गहन छलफल भएको थियो । एजेन्सी 

ADV

सम्बन्धित खबर

Advertise