२०८२ भदौ १० गते मङ्गलवार / Aug 26 , 2025 , Tuesday
२०८२ भदौ १० गते मङ्गलवार
Ads

प्रि-आर्टिकलसिप अभिमुखीकरण कार्यक्रम सम्पन्न

shivam cement
मध्यान्ह
२०८२ भदौ ९ गते २२:१०
प्रि-आर्टिकलसिप अभिमुखीकरण कार्यक्रम सम्पन्न

काठमाडौं : नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले १०औं प्रि–आर्टिकलसिप अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले आइतबार राजधानी काठमाडौंमा सो कार्यक्रम सम्पन्न गरेको हो ।

सो कार्यक्रम गत जुनमा सञ्चालित चार्टर्ड एकाउन्टेन्ट (सिए) परीक्षाको क्याप तह उत्तीर्ण गरेका विद्यार्थी लक्षित रहेको संस्थाले जानकारी दिएको छ । कार्यक्रमको उद्देश्य परीक्षामा सफल भएका विद्यार्थीलाई पञ्जीकृत प्रशिक्षणसम्बन्धी आवश्यक जानकारी र क्याप ३ तहमा दर्ताका लागि आवश्यक प्रक्रिया सम्बन्धमा जानकारी प्रदान गर्नु रहेको संस्थाले उल्लेख गरेको छ ।

कार्यक्रममा संस्थाका अध्यक्ष सिए निलबहादुर सारु मगरले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए । ‘यो उचाइ प्राप्त गर्न अघि बढ्ने तपाईंहरूको यात्राको अन्त्य नभई सुरुवात हो, त्यसैले अझ धेरै मेहनतका निम्ति तयार रहनुहोला,’ उनले भने । संस्थाको सदस्य भएपछि प्राप्त हुने विभिन्न अवसरबारे समेत उनले जानकारी दिए ।

त्यस्तै, संस्थाका उपाध्यक्ष सिए आनन्दराज शर्मा वाग्लेले पनि प्रस्तुतीकरण दिएका थिए । प्रस्तुतीकरणमा पञ्जीकृत प्रशिक्षण क्रममा प्रशिक्षार्थीले पालना गर्नुपर्ने व्यवहार, प्रशिक्षार्थी तथा प्रशिक्षकको भूमिका र लेखापरीक्षण फर्मको अधिकार तथा कार्यक्षेत्रजस्ता विषय समावेश थियो ।

कार्यक्रममा संस्थाका शिक्षा महाशाखाका सहायक निर्देशक सिए गौरव खतिवडाले प्रशिक्षण सम्झौतासम्बन्धी नीतिगत आधार तथा प्रक्रियाका सम्बन्धमा प्रस्तुतीकरण दिएका थिए । साथै, कार्यक्रममा संस्थाले आयोजना गरेको आइक्यान निबन्ध प्रतियोगिताका विजेता तथा उपविजेता क्याप ३ तहका विद्यार्थीलाई नगद तथा प्रमाणपत्र पनि वितरण गरिएको थियो ।

ADV

सम्बन्धित खबर

Advertise