सिरहा : पूर्वपश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुर–कमला सडक विस्तारका क्रममा सिराहाको मिर्चैयामा ओभरपास निर्माण भइरहेको छ । निर्माण कम्पनी ‘चाइना रेलवे–२ इन्जिनियरिङ ग्रुप’ले सन् २०२५ डिसेम्बर ३१ भित्र काम सम्पन्न गर्ने लक्ष्यसहित निर्माण भइरहेको जनाएको छ ।
पाँच सय मिटर लम्बाइको ओभरपासमा २४ वटा ‘पाइल’ राखिसकिएको छ । उक्त संरचना छ मिटर उचाइमा निर्माण हुने बताइएको छ ।
आयोजनाका प्राविधिक शाखाका सूचना अधिकारी सरोज कोइरालाले भने, “यो संरचना निर्माणपछि पूर्वपश्चिम तर्फ सवारीसाधन ओभरपासबाटै गुड्नेछन् भने उत्तर-दक्षिण तर्फका सवारीसाधन मुनिबाट क्रस हुने व्यवस्था मिलाइनेछ ।”
सोही योजनाअन्तर्गत लहान चोकमासमेत अर्को ओभरपास निर्माण सुरु भइसकेको छ । विद्युत् पोल नसरिएकाले त्यहाँ केही प्राविधिक समस्या उत्पन्न भएको निर्माण कम्पनीले जनाएको छ ।
कञ्चनपुरदेखि कमलासम्मको ८६.८३ किलोमिटर सडक विस्तार परियोजनाअन्तर्गत बलान नदीदेखि कमलासम्मको ४७ किलोमिटर खण्डमा हालसम्म ६६.५० प्रतिशत निर्माण सम्पन्न भइसकेको छ । आयोजनाको कुल लागत रु १५ अर्ब ६६ करोड ४४ हजार ९८३ रहेको छ ।