२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

गत वर्ष झण्डै साढे सात लाख कामदार वैदेशिक रोजगारीमा

ADV
२०८१ साउन ४ गते ०६:४०
गत वर्ष झण्डै साढे सात लाख कामदार वैदेशिक रोजगारीमा

काठमाडौं : गत आर्थिक वर्षमा ७ लाख ४१ हजार २ सय ९७ नेपाली वैदेशिक रोजगारीमा गएका छन् । त्यसमा पुरुषको संख्या ६ लाख ६१ हजार १ सय २५ र महिलाको संख्या ८० हजार १ सय ७२ रहेको छ । गत वर्ष म्यानपावर कम्पनीमार्फत ३ लाख ५३ हजार १ सय ६३ जना वैदेशिक रोजगारमा गएका छन् ।

आर्थिक वर्ष २०७९/०८० मा ७ लाख ७१ हजार ३ सय २७ जना गएका थिए । गत आर्थिक वर्ष वैदेशिक रोजगारमा जानेको संख्या अघिल्लो आर्थिक वर्षभन्दा ३० हजार ३० ले कम भएको छ । मलेसिया रोजगार बन्द भएका कारण वैदेशिक रोजगारीमा जानेको संख्यामा ३० हजार बढीले घटेको हो । अघिल्लो वर्ष २ लाख १९ हजार ३ सय ५७ जना मलेसिया गएकोमा  गत वर्ष करिब १ लाख ३८ हजारभन्दा बढीले कम अर्थात ८१ हजार ३ सय ८२ जना मात्रै मलेसिया गएका छन् ।

वैदेशिक रोजगार विभागले सार्वजनिक गरेकोे वार्षिक विवरणअनुसार गत वर्ष म्यानपावर कम्पनीबाट मात्रै ३ लाख ५३ हजार १ सय ६३ नेपाली पहिलोपटक वैदेशिक रोजगारीमा गएका छन् ।

देशगतरुपमा सबैभन्दा धेरै नेपाली यूएई गएका छन् । गत वर्ष उक्त मुलुकमा १ लाख १० हजार १ सय ७३ नेपाली गएका छन् । दोस्रोमा रहेकोे मलेसियामा ८१ हजार १ सय ८१ गएका छन् भने तेस्रोमा रहेको साउदी अरेबियामा ७२ हजार ८ सय ६४ जना गएका छन् । कतार चौथोमा रहेकोे छ । उक्त मुलुक ३४ हजार १ सय ६८ जना गएका छन् । अघिल्लो वर्ष पनि कतारमा ३३ हजार ६ सय २९ जना गएका थिए ।

गत वर्ष पाँचौं स्थानमा रहेकोे कुवेतमा २७ हजार ४ सय ८० जना गएका छन् । छैटौंमा रहेको साइप्रसमा ५ हजार ८ सय ९५ जना गएका छन् । आठौंमा रहेकोे मरिससमा ४ हजार ९ सय ७५, नवौंमा रहेकोे बहराइनमा ४ हजार ८ सय ४ जना गएका छन् । दशौंमा रहेकोे रोमानियामा ४ हजार २ सय ३६ जना गएका छन् । अघिल्लो वर्ष उक्त मुलुकमा ७ हजार ७ सय ८ जना गएका थिए ।

गत वर्ष अल्बानियामा ३३ जना, ब्रुनाइमा १ सय ४३ जना, क्रोएसियामा ९ सय ८ जना, हङकङमा ८१ जना, जापानमा १ हजार २ सय १ जना, जोर्डनमा १ हजार ९ सय ७१ जना, मकाउमा ४ सय ५३ जना, माल्दिभ्समा ७८ जना, माल्टामा १ सय ५ जना, ओमनमा १ हजार ९ सय १६ जना, रसियामा २ सय ३० जना, सर्भियामा २५ जना, टर्की २७ जनामा, बेलायत ६३ जना, उज्वेकिस्तान १ सय १९ जना र सरकारले पठाएको इजरायलमा ३४ जना गएका छन् ।

युरोपेली मुलुकमा संस्थागत अर्थात म्यानपावर कम्पनीको तुलनामा व्यक्तिगतरुपमा जाने कैयौं गुणा धेरै छन् । संस्थागतरुपमा ६३ जना गएको बेलायतमा व्यक्तिगतरुपमा २ हजार ३ सय ६५ जना, टर्कीमा २ सय २४ जना, स्लोभाकियामा ३ सय ८९ र सोल्भेनियामा ३ सय ३२  जना गएका छन् । 

संस्थागतरुपमा एक जना पनि नगएको अमेरिकामा ३ सय ९९ जना, सिंगापुरमा २ सय ७ जना, पोर्चुगलमा ६ सय २२ जना, पोल्याण्डमा १ हजार ६ सय ४९ जना, न्यूजिल्याण्डमा ४ सय ७० जना, नर्वेमा ४६ जना मंगोलियामा १ सय ४६ जना गएका छन् ।

त्यस्तै अफगानिस्तानमा २८ जना, अस्ट्रेलियामा ३ सय ७५, अष्ट्रियामा ७ सय १२, अजरबैजानमा २ सय ७ जना, बेलारुसमा १ सय ८३ जना गएका छन् । नेपाली राजदूतावास र नियोगहरुले मागपत्र प्रमाणीकरण नगर्दा व्यक्तिगतरुपमा युरोपेली मुलुक जाने क्रम बढेको वैदेशिक रोजगार व्यवसायीहरु बताउँछन् ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise