चर्को दबाव पछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री पदबाट गजेन्द्र हमालले राजीनामा दिएका छन् । आइतबार सञ्चार माध्यम मार्फत् राजीनामा घोषणा गरेका थिए । स्रोतका अनुसार, सार्वजनिक घोषणा नगरेको भए उनको राजीनामा हुने थिएन । किनकि हमाल प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री नियुक्त भएका थिए । हमाल मन्त्री बन्नुअगाडि नै प्रधानन्यायाधीशले कोटा मागेको सूचना सार्वजनिक भएको थियो । प्रन्या जबराले दुई वटा मन्त्रालय मागेका भएपनि प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता साझेदार दलका नेताहरु एउटा मात्रै मन्त्रालय दिन तयार भए । प्रन्या जबरा पनि एउटा मात्रै भएपनि मन्त्रालय लिन तयार भए । जबकी मन्त्रिपरिषद्मा प्रन्याले कोटा लिने भएपछि सार्वजनिक रुपमा चर्को आलोचना भएको थियो ।
तर प्रधानमन्त्री देउवा र प्रन्या जबरा रोकिएनन् । शुक्रबार भएको मन्त्रिपरिषद् बिस्तारमा प्रन्याको कोटाबाट हमाल मन्त्री नियुक्त भए । हमालका बचाउमा सत्ता साझेदार दलका नेताहरु खुलेरै उत्रिएका थिए । शनिबार मात्रै चितवन पुगेर नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हमाल प्रन्याको कोटामा मन्त्री नियुक्त नभएको प्रष्टोक्ति दिएका थिए । जबकी काँग्रेसकै नेताहरुले भने हमाल प्रन्याकै कोटाबाट मन्त्री बनेको बताएका थिए । हुन पनि पाँच दलीय गठबन्धन बीच शक्ति सन्तुलन मिलाउन नसकिरहेका बेला गैरसांसद हमाल मन्त्री बनेका थिए । शनिबार मात्रै प्रधानमन्त्री देउवाले पनि काँग्रेसका प्रभावशाली नेताहरु नसमेटी हमाललाई मन्त्री बनाउनुलाई बाध्यता भनेका थिए ।
तर हमालले आफ्नो विवेक प्रयोग गरी राजीनामा दिए । राजीनामासँगै हमाल विवादबाट टाढिएका छन् । मन्त्रीको शपथ लिएलगत्तै आफू काँग्रेसकै नेता भएको जिकिर गरेका थिए । यदि उनी त्यही जिकिरमा कायमै रहिरहेका थिए भने उनी सधैं विवादित पात्र बनिरहन्थे । राजीनामा दिएसँगै थोरै भएपनि कोर्स करेक्सनमा बल पुगेको छ । तर प्रन्या जबरा र प्रम देउवालाई लागेको दाग भने मेटिने छैन । किनकि संविधान जोगाउने भनेर मुलुकमा जस्तो राजनीतिक घटनाक्रम विकसित हुँदै आएको थियो । त्यसको बर्खिलाप हुनेगरी प्रन्याको कोटाबाट हमाललाई मन्त्री नियुक्ति गरिएको थियो । यो नियुक्तिले न्यायालयको विश्वासनीयता माथि प्रश्न उठेको छ । अब न्यायालयको विश्वास दिलाउने दायित्व प्रन्या जबराको हो । किनकि प्रन्या जबराले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि प्रन्या जबराले संवैधानिक नियुक्तिमा भागबण्डा लिएका थिए । त्यसविरुद्धको मुद्दा सर्वोच्चमै विचाराधीन छ भने हमालले जसरी नियुक्ति पाएकाहरुले राजीनामा गरेका छैनन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies