एकताको चाड दशैं मनाउन घर फर्किने क्रम बढेको छ । पेशा, व्यावसाय, अध्ययन लगायत प्रयोजनका कारण शहरमा बसिरहेकाहरु गाउँ फर्कनेको भीड लागेको छ । सडक यातायात र हवाइ मार्ग भएर घर फर्कनेको लहरले दशैंको अनुभूति दिलाइरहेको छ । बितेको वर्ष भन्दा यस वर्ष दशैं उत्सव अलिक बढी भएको देखिन्छ । यसको प्रमुख कारण भने कोरोना महामारीको जोखिम केही कम हुनु हो । विश्वव्यापी कोरोना महामारीका कारण बितेको वर्षको दशैं खल्लो भएको थियो । सामाजिक दूरी मनाएर मात्रै दशैं मनाउन प्रशासनले नै निर्देशन दिएको थियो । त्यो भन्दा पनि कोरोना महामारीको मनोवैज्ञानिक त्रासका कारणले दशैं मनाउन गाउँ फर्कने संख्या न्यून थियो ।
अझ शहरबाट फर्कनेहरुलाई गाउँपालिका, नगरपालिकाहरुले कडाइ गरेकाले धेरै घर फर्किएनन् । १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने नियमका कारणले पनि दशैं उत्सव बन्न सकेको थिएन । अझ लामो समय गरिएको देशब्यापी लकडाउन र स्थानीय प्रशासनले गरेको निषेधाज्ञाका कारण अर्थतन्त्र समेत शिथिल बनेको थियो । अर्थतन्त्र शिथिल बन्नुको असर दशैं, तिहार र छठ जस्ता चाडमा परेको थियो । न्यून आय भएका र ज्यालादारी रोजगारीमा रहेकाहरुले आर्थिक संकटमा परेका थिए । तर महामारीको रोकथाम अपनाउँदै नागरिकहरु सामान्य बन्ने प्रयत्नमा छन्, अहिले । त्यसैले अघिल्लो वर्ष भन्दा यसपटकको दशैं बढी उत्सवजस्तो बनेको छ । यसको अर्थ कोरोना महामारीको जोखिम टरिसकेको रुपमा भने बुझ्न हुन्न ।
बजारमा देखिएको भीडले महामारी टरेको जस्तो आभाश दिइदैछ । तर त्यस्तो मूर्खता गरिनु हुन्न । पर्याप्त मात्रामा कोरोना विरुद्धको खोप उपलब्ध भइनसकेकाले पनि आवश्यक सतर्कता अपनाउन जरुरी छ । सँगै, दशैंलाई एकता र सहिष्णुताको चाडका रुपमा लिन भने बिर्सनु हुन्न । मुलुकको राजनैतिक कारणले पनि समाज अहिले विभाजित देखिन्छ । जसलाई दशैं जस्तो चाडले एकतामा रुपान्तरित गरिनुपर्छ । त्यसैपनि दशैं सामाजिक पर्वको रुपमा विकास भएको छ । फेरि पनि सामाजिक पर्व बनेको दशैंलाई कोरोना महामारी फैलने कारण बन्न चाहिँ कदापी दिइनु हुन्न । महामारीबाट सतर्कता रहँदै नयाँ संकल्पका रुपमा दशैं मनाऔं । वडा दशैंको शुभकामना !
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies