२०८३ मंसिर ९ गते बुधवार / Nov 25 , 2026 , Wednesday
२०८३ मंसिर ९ गते बुधवार

बालश्रम अन्त्यका लागि शिक्षा र परिवारको आर्थिक सशक्तीकरणमा सांसदहरूको जोड

Nada
२०८३ मंसिर ९ गते १७:३४
Shares
बालश्रम अन्त्यका लागि शिक्षा र परिवारको आर्थिक सशक्तीकरणमा सांसदहरूको जोड

काठमाडौँ : प्रतिनिधि सभाका सांसदहरूले बालबालिकाको उमेर, उनीहरूको पारिवारिक आर्थिक अवस्था र मनोवैज्ञानिक तथा सर्वांगीण विकासमा बाधा पुगे नपुगेको विषयलाई सम्बोधन गरेर मात्र श्रममा प्रवेश गर्न दिनुपर्नेमा जोड दिएका छन् । 

बुधवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा सांसदहरूले यस्तो धारणा राखेका हुन् । बैठकमा नेकपा (एमाले)का सांसद कृपाराम रानाले बालबालिकालाई श्रममा लगाउँदा उनीहरूको मनोवैज्ञानिक अवस्था र सर्वांगीण विकासमा पर्न सक्ने असरलाई ध्यान दिनुपर्ने बताए । 

उनले बालबालिकालाई श्रममा संलग्न गराउँदा संविधानले सुनिश्चित गरेका मौलिक हकबाट वञ्चित हुन नहुनेमा जोड दिए। उनले नेपालको संविधानको धारा ३९ ले बालबालिकाको हकलाई मौलिक हकका रूपमा सुनिश्चित गरेकाले प्रस्तावित विधेयकका प्रावधान संविधानसँग बाझिने अवस्था हुन नहुनेमा समेत जोड दिए । संविधान र अन्तराष्ट्रिय श्रम मापदण्डसँग मिलाएर विधेयकलाई अघि बढाउनुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘कस्तो खालको श्रममा लगाउँदा बच्चामा मनोवैज्ञानिक असर पर्न सक्छ ? कस्तो श्रममा लगाउँदा बालबालिकाको सर्वांगीण विकासमा असर पर्न सक्छ भन्ने कुरा हेक्का राख्नुपर्छ । बालबालिकाले उक्त उमेरमा प्राप्त गरेको अधिकार कुनै पनि मानेमा पिल्सिन मिल्दैन । बालबालिकाले श्रम गर्दा उसका कुनै पनि संवैधानिक अधिकारबाट वञ्चित नहुन् भन्ने कुरामा, विशेष गरी नेपालको संविधानको धारा ३९ मा मौलिक हकका रूपमा बालबालिकाको हकको ग्यारेन्टी गरिएको छ । संविधानमा उल्लेखित यी कुराहरू र सरकारले ल्याएको यो विधेयकका कुनै पनि कुराहरू बाझिएका त छैनन् ? यी कुराकुर हामीले हेरेर विधेयकलाई अघि बढाउनुपर्ने हुन्छ ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सोम शर्माले अभिभावकविहीन तथा आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिका बढी श्रममा संलग्न हुने गरेको उल्लेख गर्दै कानूनी व्यवस्थाले मात्र बालश्रम अन्त्य नहुने बताए । उनले बालश्रम नियन्त्रणका लागि परिवारको आर्थिक अवस्था, पालनपोषण लगायतका कुरा सम्बोधन गर्नुपर्नेमा जोड दिए । बालश्रम हुनुका कारण र बालबालिकाको दुरुपयोग भइरहेको अवस्थाबारे गहिरो अध्ययन गरेर मात्र बालश्रम नियन्त्रण गर्न सकिने उनको भनाइ छ ।

उनले भने, ‘हामी यहाँ बालबालिकालाई श्रममा लगाएको विषयमा छलफल गरिरहेका छौँ । यदि हामीले किन बालबालिकाले श्रम गरिरहेका छन् भनेर मिहिन ढंगले विश्लेषण गर्ने हो भने एउटा तथा अभिभावनविहीन तथा आमाबुबाको संरक्षण नपाएका बालबालिकाहरू श्रममा लागेको पाइन्छ, कोही आर्थिक अवस्था कमजोर भएका परिवारले बालबालिकालाई पाल्न र पढाउनको लागि स्वयंले पनि श्रममा पठाउनुहुन्छ । यो एकदमै संवेदनशील कुरा भएको कारणले कानूनी रूपमा हेर्नुपर्छ । त्योभन्दा पनि महत्त्वपूर्ण कुरा चाहिँ बालबालिकालाई कुनै मान्छेले दुरुपयोग गरिरहेको छ भने त्यसको गहिरो गरी अध्ययन र विश्लेषण गर्‍यो भने पनि बालश्रम किन भइरहेको छ भन्ने कुरा थाहा पाउन सकिन्छ ।’

रास्वपाकै सांसद प्रभा कार्की बालश्रम नियन्त्रणका लागि आर्थिक रूपमा विपन्न परिवारलाई सरकारले सहयोग गर्ने कार्यक्रम ल्याउनुपर्नेमा जोड दिइन् । उनले विद्यालय जाने उमेरका बालबालिकालाई विद्यालयमै टिकाइराख्ने कार्यक्रम सञ्चालन गर्न सकेपनि बालश्रम नियन्त्रण गर्न सकिने उनको भनाइ छ । 

उनले श्रममा प्रवेश गर्दा बालबालिकाको उमेर प्रमाणित गर्ने वैज्ञानिक आधार तय गरी विधेयकलाई अघि बढाउनुपर्नेमा समेत उनको जोड छ ।

उनले भनिन्, ‘बालश्रम रोक्नको लागि आर्थिक विपन्नता भएका परिवारलाई सरकारले नै आर्थिक सहयोग गर्ने कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ जस्तो लाग्छ । विद्यालय जाने उमेरका बालबालिकालाई विद्यालयमै टिकाइराख्ने खालका कार्यक्रमहरू हामीले कसरी सञ्चालन गर्न सक्छौँ ? त्यो बारेमा पनि ध्यान दिनुपर्छ जस्तो लाग्छ । र बालबालिकाको उमेर निर्धारणमा जन्म दर्ता नभएकै कारण उनीहरू अधिकारबाट वञ्चित हुनु हुँदैन । उमेर थाहा पाउनको लागि विधेयकमा नै प्राथमिकता तोकेको छ ।’

बैठकमा अधिकांश सांसदहरूले बालश्रम नियन्त्रणका लागि कानुनी व्यवस्था मात्र पर्याप्त नहुने भन्दै बालबालिकाको पारिवारिक आर्थिक अवस्था, शिक्षा तथा संरक्षणको सुनिश्चिततालाई सम्बोधन गर्ने दिशामा सरकार अघि बढ्नुपर्ने बताएका छन् । 

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर