
काठमाडौं : नेपाली कांग्रेस १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गराउन निर्वाचन आयोग जाने तयारीमा जुटेको छ ।
मंसिर अन्तिम साता सम्पन्न महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले शपथ ग्रहण गरेसँगै पार्टीले आयोगमा विवरण अद्यावधिक गर्ने प्रक्रिया अघि बढाउन लागेको हो ।
कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिकका लागि निर्वाचन आयोग जाने तयारी भइरहेको जानकारी दिए । उनका अनुसार सोमबारभित्र आयोग पुग्ने तयारी छ ।
दुलालले यसलाई सामान्य प्रक्रियाका रूपमा व्याख्या गर्दै आयोग जाने विषयमा तयारी भइरहेको बताए । बिहीबार शपथ ग्रहण समारोहपछि बसेको केन्द्रीय कार्यसमिति बैठकले नवनिर्वाचित कार्यसमितिको विवरण अद्यावधिक गर्ने जिम्मेवारी कार्यवाहक मुख्यसचिव दुलाललाई दिएको थियो ।