काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हुन् वा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, अथवा माओवादी केन्द्रमा ३५ वर्षदेखि नेतृत्व गरिरहेका पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका माधव नेपाल । सबै नेता ७० वर्ष नाघेका छन् । पहिलो र दोस्रो जनआन्दोलनका उपलब्धिको जगमा टेकेर उनीहरू नै निरन्तर सत्ता र शक्तिमा हालिमुहाली गर्दै आएका छन् । भर्खरैको जेनजी विद्रोहपछि भने यी वयोवृद्ध नेताहरूको राजनीतिक भविष्य करिब अन्त्य भएको विश्लेषण हुन थालेको छ ।
भ्रष्टाचार, सरकारी बेथिति र सामाजिक सञ्जाल नियन्त्रणविरुद्ध भदौ २३ र २४ मा भएको जेनजी विद्रोहले सत्ता उलटफेर नै गरेपछि असुरक्षाका कारण ठुला दलका शीर्ष नेताहरू बाहिर निस्कन सकेका छैनन् ।
जेनजी पुस्ताले सडकबाटै सत्ता कब्जा गरेसँगै राजीनामा दिएर भागेका प्रधानमन्त्री केपी शर्मा ओली सार्वजनिक हुन सकेका छैनन् । ओली शिवपुरीस्थित नेपाली सेनाको सुरक्षामा घेरामा रहेको भनिए पनि उनी कहाँ छन्, यकिन छैन ।
राज्य सत्तामा रहँदा ओलीको कार्यशैलीप्रति आमनागरिक मात्रै होइन, एमालेकै नेता–कार्यकर्ता असन्तुष्ट थिए । समयको चाप र युवाहरूको चाहना बेवास्ता गर्दा २४ घण्टाभित्र देशका सबै सुरक्षा अंगको घेराभित्रबाट समेत भागाभागको स्थिति आयो । उनी सार्वजनिक नभए पनि कामचलाउ प्रधानमन्त्रीका रूपमा ओलीलाई नेपाली सेनाले सुरक्षित राखेको बताएको छ ।
संसदको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसको मुख्य सहयोगमा २०८१ असार ३१ मा बनेको ओली नेतृत्वको सरकारले स्थितरता, भ्रष्टाचारको अन्त्य, सुशासन कायम, नागरिकप्रतिको सेवाप्रवाहमा चुस्तता र संविधान संशोधनलाई मूल एजेन्डा बनाएको थियो । तर १४ महिनाको अवधिसम्म आफ्नै एजेन्डाभित्र रहेर काम गर्न नसकेपछि चौतर्फी आलोचना खेप्दै आएको सरकारमाथि प्रतिपक्षी दलहरूले सरकार ढाल्ने चेतावनी दिइरहेका थिए भने मुख्य सहयात्री दल कांग्रेसको एक समूहले सरकारको कार्यशैलीको खुलेरै विरोध जनाउँदै आएका थिए । तर प्रधानमन्त्री ओलीले त्यसलाई सहज स्वीकार गर्न नसक्दा उनको सत्ता मात्रै ढलेन, उनको पाका पुस्ताका नेतालाई सदाका लागि राजनीतिमा बिदा लिनुपर्ने अवस्था आएको राजनीतिक विश्लेषकहरू टिप्पणी गर्छन् ।
राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले पुराना नेताहरूको सत्ता र शक्तिका आडमा राज्य दोहन कारण मुलुकमा यो स्थिति आएको बताउँछन् । ‘२०४६ को परिवर्तनपछिका नेताहरूले नै आजसम्म सत्तामा मोजमस्ती गर्ने स्थिति बनेपछिको आक्रोश हो यो,’ उनले मध्यान्हसँग भने, ‘३०÷३५ वर्षसम्म एउटै व्यक्तिले पार्टी र राज्य सत्तासमेत नछाड्ने, अझै नयाँ परिस्थितिलाई ख्याल नगरी अधिनायकजस्तो एकाधिकारवाद कायम गरेका उनीहरूको युग एकैपटक सकिएको जस्तो लाग्छ । उनीहरू अब सडकबाट उठेर सत्तामा जान सक्नेस्थिति बन्दैन र बन्नुहुँदैन ।’
भदौ २३ गते सुरु भएको जेनजीको आन्दोलन उग्र बनेसँगै प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिएर बालुवाटारबाट भागेपछि उत्पन्न संकट समाधानका लागि नेपाली सेनाका प्रमुख अशोकराज सिग्देल र राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न पक्षसँगको छलफललाई तीव्रता दिँदै गर्दा राजनीतिक नेता गुमनाम छन् । उनीहरूलाई अहिले पनि बाहिर निस्कने अवस्था छैन । यद्यपि प्रमुख पार्टी नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपाका युवा नेताहरूले अज्ञातस्थलबाटै आफ्ना सन्देश सामाजिक सञ्जालमार्फत प्रवाह गरिरहे पनि पाका नेता केही बोल्न सकेका छैनन् ।
६ पटक प्रधानमन्त्रीको लोभमा परेर प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति समर्थन गर्दै आएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि यही घानमा परेका छन् । अरू नेताहरू भाग्दा आफ्नै घरमा लुकेर बसेका शेरबहादुर र पत्नी आरजु राणा देउवालाई आन्दोलनकारीले पहिला घरमा आगो लगाएर पछि त्यहाँबाट कुटपिट गर्दै निकालेर घाइते बनाएका छन् । अहिले अस्पतालमा उपचाररत देउवाको स्वास्थ्य अवस्था सामान्य रहेको भनिए पनि उनलाई भेट्न कसैलाई दिइएको छैन । देउवा दम्पतीलाई नजिकबाट हेर्दै आएकी सांसद कान्तिका सेजुवालका अनुसार उनको स्वास्थ्य अवस्था सुधारोन्मुख छ । तर देउवा दम्पतीकै आगामी राजनीतिक करिब अन्त्यजस्तै देखिएको छ । उमेरले करिब ८० हाराहारी पुगेका देउवालाई पार्टी राजनीतिमा नयाँ पुस्ताले स्वीकार्ने अवस्था अन्त्य भएको कांग्रेसकै युवा नेताहरूले बताएका छन् । पार्टीका युवा नेताहरूले अब सच्चिएर हस्तक्षेपकारी भूमिका खेल्ने नागरिकमाझ अपिल गरेका छन् ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मासहितका युवाहरूले बुढा नेताहरूकै कारण यो अवस्था आएकाले आगामी दिनमा सच्चिएर पार्टीलाई अझ बलियो बनाएर लैजाने आमरूपमा विश्वास दिलाउने प्रयासमा छन् । कांग्रेससहित नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टीका युवा नेताहरूले समेत आफ्ना शीर्ष नेतालाई सार्वजनिक रूपमै सक्रिय राजनीतिबाट बिदा लिनेगरी वक्तव्य जारी गर्न लगाउने पक्षमा छन् । सो कार्यमा कांग्रेस सभापति शेरबहादुर देउवासहित, पूर्वपदाधिकारीहरू प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, कृष्ण सिटौला, विमलेन्द्र निधीसहित दर्जन नेता पर्नेछन् । त्यस्तै, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, रामबहादुर थापालगायत नेता पर्ने एमाले स्रोतको दाबी छ । त्यस्तै, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, उपाध्यक्ष नारायणकाजी श्रेष्ठलगायत नेताहरू पर्नेछन् । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष बेदुराम भुसाल, सम्मानीत नेता झलनाथ खनाल, वामदेव गौतमसहित नेतालाई अवकाश हुन आग्रह गर्ने चरणमा रहेको नेकपा एसकी नेता रामकुमारी झाँक्रीले बताइन् । पछिल्लो परिस्थितिले गर्दा पहिलो पुस्ताका नेताहरूलाई अवकाश पठाउने दोस्रो तहका नेताहरूको प्रयासले सार्थकता पाउने सम्भावना रहेको पार्टीका युवाहरूले दाबी गरेका छन् ।
त्यस्तै, नेसपाका अध्यक्ष बाबुराम भट्टराई, जसपा नेपालका उपेन्द्र यादव, लोसपाका महन्त ठाकुरलगायत नेतासमेत अवकाशको अवस्थामा छन् । सबै राजनीतिक दलमा पुस्तान्तरण हुने र पार्टीलाई नागरिकको सेवक बनाएर जनतामाझ जाने अवस्था बाँकी नै रहेको राजनीतिक विश्लेषक शंकर तिवारीको बुझाइ छ । ‘नेपालले सबै राजनीतिक दलमा पुस्तान्तरण र कार्यशैलीमा परिवर्तन चाहेको थियो,’ तिवारीले मध्यान्हसँग भने, ‘शीर्ष नेताहरूकै हठले सम्भव भइरहेको थिएन । युवाहरूको यो आन्दोलनबाट उहाँहरूको अवकाश भएको देखिन्छ । यसले पार्टीमा रिफर्म हुने मौका पनि मिलेको छ । अब फेरि मूल राजनीतिमा फर्कने सम्भावना पुराना नेताहरूको छैन ।’ दलप्रति नै आमरूपमा देखिएको वितृष्णालाई कम गर्दै जनजीविकाका सवालमा काम गरेर दलहरू नागरिकमाझ फेरि राम्रो सन्देशका साथ जान सक्ने दाबी गरे ।
जेनजी पुस्ताको आन्दोलनपछिको मुलुकको परिस्थिति सम्हाल्ने विषयमा चासो र चिन्ताका साथ सुरक्षित अवतरणका लागि दलका दोस्रो पुस्ताका नेताले जेनजीलाई सामाजिक सञ्जालमार्फत सुझाव दिन थालेका छन् । सत्ता कब्जा गरेका जेनजीका तर्फबाट पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्वमा पठाइएको छ ।