२०८१ असोज १३ गते आइतवार / Sep 29 , 2024 , Sunday
२०८१ असोज १३ गते आइतवार

विभागले ठगी देख्यो, ठग देखेन

ADV
२०८१ साउन ५ गते ०६:४०
विभागले ठगी देख्यो, ठग देखेन

मध्यान्ह संवाददाता
काठमाडौं, ४ साउन
वैदेशिक रोजगार विभागले इजरायलमा वृद्धवृद्धालाई स्याहार गर्ने दीर्घकालीन स्याहार केन्द्र केयरगिभरमा पठाइदिने भन्दै विभिन्न संस्था र व्यक्तिले रकम उठाएको सूचना आएको बताएको छ । विभागले गत असारमा जीटुजी अर्थात सरकारी प्रक्रियाले छनोट गरेर पठाउने भन्दै इजरायलको केयरगिभरको रोजगारीका लागि दरखास्त आह्वान गरेकोे थियोे ।
विभागले नेपाली कामदारको आकर्षक श्रम गन्तव्य इजरायलबाट आठ सय नेपाली कामदारको माग आएको सूचना प्रकाशित गरेकोे थियो । सूचनाअनुसार इच्छुकले तीन हप्ताभित्र अनलाइन आवेदन दिइसकेका छन् ।
यसपटक ५ सय जना मुख्य उम्मेदवार र ३ सय जना वैकल्पिक उम्मेदवार छनोट हुनेछन् । ८ सयमध्ये ६० प्रतिशत अर्थात ४ सय ८० महिला र ४० प्रतिशत अर्थात ३ सय २० जना पुरूष छनोट हुनेछन् । इजरायलमा नेपाली केयरगिभरको तलब २ लाख १० हजार छ भने शुरुवातमा करार अवधि १ वर्षको भए पनि करार अवधि थपेर ५ वर्षसम्म इजरायल बस्न पाइने भएकाले खाडी तथा मलेसियाको तुलनामा उक्त मुलुकको रोजगारीमा अत्यधिक आकर्षण देखिने गरेकोे छ ।
आवेदकमध्ये अधिकांशले हाल राजधानीमा रहेका विभिन्न इन्स्टिच्युटमा अंग्रेजी र हिब्रु भाषाको कक्षा लिइरहेका छन् । कतिपय इन्स्टिच्युट सञ्चालकले विभागका अधिकृतहरूको नाम जोडेर इजरायलको रोजगारी पक्का भन्दै मोटो रकम उठाएको चर्चा विभागमा छ ।
विभागले छनोट प्रक्रिया योग्यतामा आधारित पूर्णतः निष्पक्ष हुने भन्दै पास गराउने वा इजरायल पठाउने भन्दै रकम माग गर्नेहरूका विरूद्ध विभाग वा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कल सेन्टरमा उजुरी दिनपनि आग्रह गरेको छ । विभागले विभिन्न व्यक्ति र संस्थाले रकम उठाएको विज्ञप्तिमार्फत सार्वजनिक गरेपनि उनीहरूमाथि कानूनी कारबाही भए–नभएको बारे केही बताएको छैन ।
केयरगिभरमा इजरायल जान २५ वर्ष पूरा भइ ४५ वर्ष ननाघेका, १.५ मिटर उचाई, कम्तीमा ४५ केजी तौल भएका, १० कक्षा पास गरी अ.न.मी. वा सि.एम.ए. सम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको वा कक्षा १२ वा सो सरहको शैक्षिक योग्यता हासिल गरी मान्यता प्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङसम्बन्धी कम्तीमा ३ महिनाको तालिम प्राप्त गरेका युवायुवती योग्य मानिएका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise