२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

कांग्रेस र एमालेले माग्यो उपसभामुखको राजीनामा

ADV
शिव विक
२०८१ साउन ५ गते ०६:५०
कांग्रेस र एमालेले माग्यो उपसभामुखको राजीनामा

काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा रानाको राजीनामा मागेका छन् । दुवै दलका नेताहरुले राजीनामा दिन उपसभामुख रानाकहाँ सन्देश पठाएका छन् ।

शुक्रबार सभामुख देवराज घिमिरेसहित बसेको प्रतिनिधि सभाको कार्य व्यवस्था परामर्श समितिको बैठकमा समेत उपसभामुखमाथि गम्भीर प्रश्न उठेको भन्दै सांसदहरुले आपत्रि जनाएका थिए । 

उपसभामुख इन्दिरा रानाले आफ्नो पदको लेटरहेडमा अमेरिकी दूतावासलाई चिठी लेखेको भन्दै कांग्रेसका सांसद रामहरि खतिवडाले कार्य व्यवस्था परामर्श समितिको बैठकमै उपसभामुख रानाको राजीनामा मागे । संसदसँग गैरसम्बन्धित पाँच व्यक्तिको अन्तर्वार्ता मिलाइदिन एक वर्षअघि गरेको आग्रहबारे सूचना चुहिएपछि रानामाथि प्रश्न उठेको हो । 

शुक्रबार बसेको कार्यव्यवस्था समिति बैठकमा सभामुख घिमिरे, उपसभामुख राना, कानुनमन्त्री अजय चौरसिया लगायत उपस्थित थिए । उक्त छलफलमा राज्यव्यवस्था तथा सुशासन समिति सभापति समेत रहेका कांग्रेस सांसद रामहरि खतिवडाले रानालाई मानव तस्करहरुले दुरुपयोग गरेको देखिन आएको भन्दै राजीनामा मागेका हुन् । 

उपसभामुखजस्तो गरिमामय पदमा बसेको व्यक्तिलाई मानव तस्करहरुले दुरुपयोग गर्दै पैसा लिएर मान्छे विदेश पठाउन खोजेको आरोप लाग्नु गम्भीर भएको उनले बताइन् । यसमा सभामुखले ध्यान दिनुपर्ने उनको सुझाव छ । 

छलफलमा खतिवडाले भनेका छन्, ‘यति गम्भीर प्रश्न उठिसकेपछि उपसभामुखज्यूले राजीनामा दिएर नैतिकता देखाउनुपर्छ कि पर्दैन ?’ 

खतिवडाले यसअघिको सरकारमा रहने विभिन्न पदाधिकारीले सुशासन निर्माणका लागि अनियमितता र गलत काममा फाइल खोल्ने भनी बोल्दै आए पनि यति गम्भीर विषयमा भने मौन रहन खोजेको आरोप पनि लगाए ।

आफूमाथि लक्षित गर्दै खतिवडाले पटक पटक प्रश्न गरेपछि सभामुख घिमिरेले यसबारे उपसभामुख रानासँग अलग्गै छलफल गर्ने आश्वासन दिए । 

सभामुख घिमिरेले यसअघि नै उपसभामुख रानासँग छलफल गरिसकेका छन् । तर, संसद सचिवालयले कुनै थप केही भनेको छैन । 

बरु उपसभामुख रानाले आफूले संघीय संसद् र उपसभामुख पदको गरिमामा आँच आउने कुनै काम नगरेको बताएकी छन् ।

आफूले करुणाभावले सहयोग गर्न खोजेको विषयलाई झण्डै डेढ वर्षपछि विवादित गराउन खोज्नु आफूविरुद्ध नियोजित कदम भएको उनको दाबी छ ।

उपसभामुख भएको अर्को महिना नै अमेरिका गएकी उपसभामुख रानामाथि अनधिकृत व्यक्तिहरू लैजान खोजेको आरोप लागेको छ । आफूसँगै पाँच जना कार्यक्रममा जाने लागेको भन्दै उनले भिसाका लागि काठमाडौंस्थित अमेरिकी दूतावासले लिने अन्तर्वार्ताको मिति सारिदिन पत्र लेखेको खुलेको छ । दूतावासलाई लेखेको पत्रले हालसालै उपसभामुख रानामाथि प्रश्न उठेको छ ।

शुक्रबार विज्ञप्ति जारी गर्दै उपसभामुख रानाले आफूले कार्यक्रममा सहभागी हुन निमन्त्रण आएकाहरूलाई अन्तर्वार्ताको मिति लिइदिन पत्र लेखेको स्वीकार गरेकी छन् ।

तर आफूले भिसाका लागि अनुरोध नगरेको भन्दै उनले भनेकी छन्, ‘कसैलाई भिसा दिने वा नदिने स्वतः निर्णय राजदूतावासले आफ्नो नीति र प्रक्रिया बमोजिम गर्ने नै हुन्छ । मैले कसैको भिसाका लागि अनुरोध गरेको छैन, होइन ।’ 

आफूले लेखेको पत्र मर्यादा अनुरुप भएन भनेर आएको प्रतिक्रियाप्रति आफ्नो ध्यानाकर्षण भएको उनले बताएकी छन् । 

आफूलाई माया र सद्भाव राखेर सचेत गराउन खोज्नेहरूप्रति कृतज्ञता व्यक्त गर्दै उपसभामुख रानाले भनेकी छन्, ‘तर मैले करुणाभावले सहयोग गर्न खोजेको विषयलाई उक्त पत्र लेखेको झण्डै डेढ वर्षपछि विवादित गराउन खोज्नु मविरुद्ध नियोजित कदम रहेको देखिन्छ ।’ 

आफ्नो स्वभावगत कमजोरीको कसैले फाइदा लिएको हुन सक्ने तर, आफूले अनैतिक काम नगरेको उनले बताएकी छन् । 

‘मेरो स्वभावगत कमजोरी धेरै होलान्, त्यसबाट फाइदा उठाउने पनि धेरै होलान्, तर अनैतिक कार्य मबाट भएको छैन, हुने छैन्’ उपसभामुख रानाले आफ्नो विज्ञप्तिमा भनेकी छन्, ‘आज जीवनबाट राजनीतिमा आइपुग्दा मैले दशकौं लगाएर आर्जन गरेको प्रतिष्ठा र सेवामा समर्पित सार्वजनिक जीवनमाथि लान्छना लगाउने कुत्सित प्रयासबाट कत्ति पनि बिचलित नभई म नेपाल र नेपालीको सेवामा निरन्तर लागिरहने जानकारी गराउन चाहन्छु ।’ 

ADVADV

सम्बन्धित खबर

Advertise