काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ एवं पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छोडेकी छन् ।
उनले रास्वपाका केन्द्रीय सदस्यहरूको ग्रुपमा आफूले पार्टी छोडेको बताएकी हुन् ।
पार्टी केन्द्रीय समितिलाई जानकारी गराउँदै उनले पार्टी नेतृत्वले गल्तीमाथि गल्ती गर्ने तर कहिल्यै गल्ती स्वीकार नगरेको बताइन् । उनले आफूलाई यो स्वीकार्य नभएकोले पार्टी छोडेको जानकारी गराएकी छन् ।
उनले भनेकी छन्, 'कहिल्यै गल्ती नस्वीकार्ने । गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने । पार्टीभित्र आलोचना गर्नेहरूका विरुद्धमा मिडिया ट्रायल गर्ने । जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देश भन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति बेला देखि नै आलोचना गर्दै आएको हुँ । तर त्यसले कत्ति पनि फरक पारेन । अझ उल्टै मिडिया ट्रायल हुन थाल्यो । यो स्वीकार्य छैन । अब खुलारूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नु होला । I QUIT. मैले पार्टी छोडेँ ।'