२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

मोतीलक्ष्मी उपासिका क्रान्तिकारी तथा प्रेरणादायी नारी साहित्यकार 

ADV
मध्यान्ह
२०८१ साउन ५ गते १५:३०
मोतीलक्ष्मी उपासिका क्रान्तिकारी तथा प्रेरणादायी नारी साहित्यकार 

काठमाडौँ : नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल भाषा मिसा खल:को सहकार्यमा नेपालभाषाका साहित्यिक सर्जक तथा अभियन्ता मोतीलक्ष्मी उपासिकाको ११५ओैँ जन्मजयन्ती विशेष कार्यक्रमका साथ मनाइएको छ । 

कार्यक्रममा नेपालभाषा-साहित्यका अध्येता प्रा.प्रेमशान्ति तुलाधरले 'नेपालभाषा साहित्यका एक सशक्त नारी हस्ताक्षर मोतीलक्ष्मी उपासिका'विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । 

कार्यक्रमका प्रमुख अतिथि तथा भाषा आयोगका सदस्य सुरेश किरणले पानसमा बत्ती बालेर कार्यक्रमको समुद्घाटन गरेका थिए । उनले मोतीलक्ष्मी उपासिका अग्रगामी नारी चेतना भएकी एक क्रान्तिकारी र जुझारु लेखिका भएको बताए । मोतीलक्ष्मी उपासिका नेपाली र नेपालभाषाकी साहित्य सर्जक,सांगठानिक, साहित्यिक अभियन्ता र सबै मातृभाषाका लागि प्रेरणाको स्रोत भएको उनको भनाइ थियो ।

प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले मोतीलक्ष्मी उपासिकाले नेपालभाषा र साहित्यमा पु-याएको योगदानबाट कोही पनि विमूख  हुन नहुने बताए  । उनले मोतीलक्ष्मी उपासिकाका बारेमा गहिरो खोज अनुसन्धान हुनुपर्नेमा जोड दिँदै एउटा भाषा हरायो भने राष्ट्रको ठुलो अंग हराउँछ भन्ने चेतना स्वयम् राज्यको हुनुपर्ने धारणा राखे ।

प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा अनुवाद विभाग प्रमुख हंसावती कुर्मी 'हंसा'ले  स्वागत मन्तव्य राख्दै मोतीलक्ष्मी उपासिकाले साहित्यिक क्षेत्रमा पुर्याएको योगदानलाई नयाँ पुस्तासम्म पुर्याउन यो कार्यक्रम महत्त्वपूर्ण रहने बताइन् ।

कार्यक्रमका सभाध्यक्ष, प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा भाषा (मातृभाषा कोष तथा व्याकरण) विभाग प्रमुख त्रैलोक्यमान बनेपाली 'अगिव' ले साहित्यमा विशिष्ट योगदान गरेकी मोतीलक्ष्मी उपासिका नेपालभाषा-साहित्य मात्र नभई सिंगो नेपाली साहित्यकी प्रेरणादायी एक क्रान्तिकारी नारी हस्ताक्षर रहेको दाबी गरेका छन् । एक सर्जक, संगठक र अभियन्ता रहेकी उपासिकाको व्यक्तित्वलाई उजागर गर्न अझै बाँकी रहेको उनले बताए । 

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै प्रा.प्रेमशान्ति तुलाधरले नेपालभाषाका विशिष्ट प्रतिभा चितधर 'हृदय' जस्ता साहित्यिक महारथीहरूको प्रशिक्षण र प्रेरणा पाएर कलम चलाएकी मोतीलक्ष्मी उपासिकाले राणाकालीन कालरात्रीमा पनि देशकाल परिस्थितिसँग जुधेर नेपालभाषाको संरक्षण र संवर्द्वनका निमित्त आगाडि बढेको चर्चा गरेका थिए । साथै उनले जेलमा परेका आफ्नो दाजु चित्तधरलाई अनेकौँ जुक्तिले जेलभित्र आवश्यक सामाग्री जुटाई साहित्य सिर्जनामा अभिप्रेरित गर्ने र जेलकृत रचनालाई गुप्त रूपमा ल्याएर सुरक्षित राख्ने मोतीलक्ष्मी त्याग र बलिदानकी प्रतिमूर्ति भएको बताए  ।

नेपालभाषाका क्षेत्रमा पहिलो आधुनिक कथाकार तथा नेपाली भाषाको प्रथम महिला कथाकारका रूपमा परिचित रहेको बारे उल्लेख गर्दै मोतीलक्ष्मीलाई नीति, उपदेशमूलक, दार्शनिक तथा स्वच्छन्दतावादी दृष्टिकोण व्यक्त गर्ने नेपालभाषाको आधुनिक गद्य साहित्यका लागि विशुद्ध सेतुको रूपमा काम गर्ने साहित्यकारको रुपमा कार्यपत्रमा चित्रण गरिएको थियोे । 

उक्त कार्यपत्रमाथि प्राज्ञद्वय चेतनाथ धमला र सूर्यप्रसाद यादव, सहभागीका तर्फबाट तिलकप्रकाश कायस्थ, शाक्य सुरेन र हरिशरण राज उपाध्याय शर्माले आआफ्नो जिज्ञासासहित टिप्पणी राखेका थिए । कार्यक्रममा 'मोतीलक्ष्मी उपासिका' शीर्षकको आफ्नो कविता लोककवि राजभाइ जकमीले वाचन गरेका थिए । 

समाजसेवी तथा साहित्यकार कृष्णलाल प्रधान र नेवा देय् गुठीका अध्यक्ष पवित्रा बज्राचार्यले उनको योगदानबारे आ-आफ्नो धारणा राखेका थिए । कार्यक्रममा नेपालभाषा मिसा खल:का अध्यक्ष धर्मशोभा तुलाधरले धन्यवादज्ञापन तथा संस्थाका सहसचिव पद्मलक्ष्मी ताम्राकारले आयोजकका तर्फबाट खादा लगाएर स्वागत गरेका थिए । पूर्णिमा शाक्यले कार्यक्रम उद्घोषण गरेकी थिईन् ।

ADVADV

सम्बन्धित खबर

Advertise