काठमाडौँ :
नरोऊ पियारी रुँदा दाग लाग्छ
र, उत्ताउलीझैँ हुँदा दाग लाग्छ
उनी चन्द्रझैँ स्निग्ध, कन्चन, सफा छिन्
नछोऊ कसैले छुँदा दाग लाग्छ ।
गणेशप्रसाद खतिवडाका यी मुक्तक विश्व कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठले साजबाजसहित गाउँदा हल प्रेमिल बनेको थियो ।
शनिबार काठमाडौँमा दियालो साहित्य सरगमले आयोजना गरेको ‘वाह ! यस्तो पो मुक्तक !’ कार्यक्रममा नेपाली सांगीतिक इतिहासमै पहिलो पटक छन्द-बहरमा रचना गरिएका मुक्तक प्रत्यक्ष गायन गरियो ।
शान्ति शर्मा, शिवराम खड्का र गणेशप्रसाद खतिवडाका ३-३ वटा मुक्तक सन्तोषले साजबाजसहित गाएका थिए । सन्तोषलाई तबलामा रमेश डंगोल र बाँसुरीमा डम्बर खड्काथोकीले साथ दिएका थिए ।
तिमी सोह्र शृंगार लाएर बस्नू
भन्यौ, ‘सुस्तरी छेउ आएर बस्नू’
म आएँ हजुरकै इशारा मुताबिक
छ केके खजाना लुकाएर बस्नू ।
मुक्तककार राधा कणेल यसरी प्रेमिल बनेर पोखिएपछि माहोल साँच्चै ‘वाह !’ बन्दै गयो । त्यही बेला सन्तोष गुञ्जिए शान्ति शर्माका शब्दमा :
समाऊ दह्रो प्रेमका आज हात
जमाऊ नरम ज्यानमा राजकाज
म रोऊँ, कराऊँ कतै भित्र डुब्दै
चलोस् हुन्डरी प्रेमको बस्तीमाझ ।
कणेलसहित सबिता बराल, सिर्जना सरोबर र रत्न विरही घिमिरेले ५-५ वटा मुक्तक तरन्नुममा वाचन गरेका थिए । प्रमुख अतिथिका रूपमा उपस्थित प्रा.डा. देवी नेपालले नेपालमा छन्द-बहरमा रचित मुक्तकको गायन भएको पहिलो भन्दै यो कार्यक्रम ऐतिहासिक बनेको बताए ।
छन्द-बहरका गजल गायनको स्वर्ण दशक अभियानमा गजलकार घनेन्द्र ओझा र संगीतकार सन्तोष श्रेष्ठ जुटिरहेका बेला दियालो साहित्य सरगम मुक्तक गायनमा जुट्नु खुसीको कुरा भएको नेपालको भनाइ थियो ।