२०८२ असोज ११ गते शनिवार / Sep 27 , 2025 , Saturday
२०८२ असोज ११ गते शनिवार
Ads

योगेश भट्टराईले गरे एमाले पुनर्गठनको आह्वान

shivam cement
मध्यान्ह
२०८२ असोज ९ गते १३:४१
योगेश भट्टराईले गरे एमाले पुनर्गठनको आह्वान

काठमाडौं : नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी पुनर्गठनको आवश्यकतामा जोड दिँदै नयाँ परिस्थितिमा आधारित भएर अगाडि बढ्न सबैलाई अपिल गरेका छन् । भदौ २३ को जेनजी आन्दोलन र त्यसपछिको घटनाक्रमले सिर्जना गरेको संकटलाई सम्बोधन गर्न पार्टीले आत्मसमीक्षा गर्दै रूपान्तरणको बाटो रोज्नुपर्ने उनको भनाइ छ । बिहीबार एक भिडियो सन्देश र विज्ञप्तिमार्फत उनले यी कुराहरू व्यक्त गरेका हुन् ।

भट्टराईले भदौ २३ को जेनजी आन्दोलनले नेपालको राजनीतिक र सामाजिक संरचनामा ठूलो प्रभाव पारेको बताए । यो आन्दोलनले सुशासनको माग र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध युवाहरूको आक्रोशलाई उजागर गरेको उनको विश्लेषण छ । तर, भदौ २४ मा भएको विध्वंसले देशको आर्थिक र सांस्कृतिक संरचनामा गहिरो क्षति पुर्‍याएको उनले उल्लेख गरे ।

'भदौ २३ को आन्दोलनले हाम्रो समाज र राजनीतिमा असाधारण परिवर्तन ल्यायो, तर भदौ २४ को अकल्पनीय विध्वंसले हाम्रा राष्ट्रिय सम्पदा, सांस्कृतिक मूल्य र आर्थिक संरचनालाई भत्कायो,' उनले भने । 'यसले जेनजी आन्दोलनको पवित्र मागलाई बदनाम बनायो । यस्ता घटनाको सत्यतथ्य छानबिन हुनुपर्छ ।'

उनले भदौ २४ को विध्वंसमा संगठित घुसपैठ र अपराधिक गतिविधिको संलग्नता रहेको दाबी गरे । साथै, यस्ता घटनाले देशलाई अनिश्चितताको बाटोमा धकेल्ने खतरा रहेको उनको चेतावनी छ ।

भट्टराईले विगतका संकटका बेला पार्टी पुनर्गठन भएका उदाहरणहरू प्रस्तुत गर्दै इतिहासबाट सिक्नुपर्ने बताए । विशेषगरी, २०६१ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि नेकपा (एमाले) ले युवा पुस्ताको नेतृत्वमा पुनर्गठनको बहस चलाएको उनले स्मरण गरे । 'त्यसबेला नवौं महाधिवेशनले पार्टीको आन्तरिक लोकतन्त्रलाई प्रणालीगत रूपमा स्थापित गर्‍यो, जसले पार्टी र आन्दोलनलाई जोगायो,' उनले भने ।

उनले क्रान्तिकारी आन्दोलनले आफ्ना कमजोरी स्वीकार नगरेसम्म प्रगति सम्भव नहुने लेनिनको भनाइलाई उद्धृत गर्दै कमजोरी लुकाउँदा विपक्षीलाई बल पुग्ने बताए ।

भट्टराईले जेनजी आन्दोलनले देखाएको असन्तुष्टि र समाजको बदलिएको अपेक्षालाई स्वीकार गर्नुपर्नेमा जोड दिए । 'हामीले बदलिएका आवश्यकता र अपेक्षा पूरा गर्न नसकेकोमा माफी माग्नुपर्छ,' उनले भने । 'आत्मभर्त्सना होइन, आत्मसमीक्षा गरेर अगाडि बढ्नुपर्छ ।'

उनले पार्टी नेतृत्व र कार्यकर्तालाई इतिहासको सम्मान गर्दै, तर नयाँ चेतनाका साथ पुनर्गठनमा जुट्न आह्वान गरे । 'हामीले गल्तीबाट सिकेर पार्टी र आन्दोलनलाई नयाँ दिशा दिनुपर्छ । यो निराशाको समय स्थायी होइन, परिवर्तनको सम्भावना यहीँ लुकेको छ,' उनले भने ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise