काठमाडौं : गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक कनेक्सनको आधारमा रोकिएका सबै अनुसन्धानको कामहरु तत्काल अघि बढ्ने बताएका छन् । शुक्रबार अपराह्न नक्सालस्थित नेपाल प्रहरीको अपराध अनुसन्धान विभागको अनुगमनपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले सरकारले सुशासन प्रवद्र्धनका लागि पहिलो शर्तको रुपमा सो कामलाई अघि बढाउने बताएका हुन् ।
मन्त्री अर्यालले विगतमा राजनीतिक कनेक्सनको आधारमा भ्रष्टाचार बढेको उल्लेख गर्दै त्यसलाई तोडेर सरकार अघि बढ्ने पनि दोहोर्याए । त्यस अवसरमा उनले आफूले प्रचलित कानुन बमोजिम कुनै पनि अनुसन्धानको कामलाई अघि बढाउन मातहतका सबै निकायलाई सचेत गराइएको पनि बताए । सरकारले सुशासनलाई कायम गरेर मुलुकमा तोकिएको मितिमा नै निर्वाचन गराउने योजनाका साथ काम गरिरहेको गृहमन्त्री अर्यालको भनाइ थियो ।
गृहमन्त्री अर्यालले सरकारले मुलुकमा सुशासन कायम गर्न सबैसँग सहकार्य गरेर अघि बढ्ने पनि बताए ।