काठमाडौं : ललितपुर प्रतिनिधिसभा क्षेत्र नं. १ मा नयाँ राजनीतिक बहसका साथ अभियन्ता सनोज महतले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । ‘नागरिक प्रथम अभियान’का अभियन्ता महतले अनामनगरमा पत्रकार सम्मेलन गर्दै स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् ।
उनले वैकल्पिक राजनीतिक संरचना र नयाँ शासन प्रणालीबारे बहसलाई केन्द्रित गर्दै उम्मेदवारी घोषणा गरेका हुन् । महतले आफूलाई केवल उम्मेदवारको रूपमा मात्रै नभई संविधान परिमार्जन र प्रणालीगत सुधारको आवाजका रूपमा प्रस्तुत गरेका छन् ।
‘दलतन्त्र नै लोकतन्त्र हो भन्ने धारणा अब अस्वीकार्य छ,’ उनले भने, ‘पुराना दलहरुले नेता–तन्त्र थुपारे, जनता उपेक्षित भए । अब जनताकै शक्ति वैकल्पिक बाटो खोज्न तयार छ ।’
उनले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिबाट देश चलाउने व्यवस्थालाई प्रमुख मुद्दाका रुपमा उठाएका छन् । अहिलेको प्रदेश सभाको स्वरूप र संरचना खर्चिलो र अप्रभावकारी भएको भन्दै उनले स्थानीय तहका प्रमुखलाई नै प्रदेशसभा सदस्यको भूमिका दिने विकल्प अघि सारेका छन् ।
उनले मुख्यमन्त्रीलाई पनि जनताबाट प्रत्यक्ष निर्वाचित गर्नुपर्ने प्रस्ताव गरेका छन् । यसले जनप्रतिनिधि र कार्यकारी निकायबीचको दूरी घटाउने उनको तर्क छ ।
महतले आफ्नो जीत भएमा पहिलो प्राथमिकता भ्रष्टाचारविरुद्ध कठोर कारबाहीलाई प्राथमिकताका साथ कार्यान्वयनमा जोड दिने घोषणा गरेका छन् ।
‘देशलाई भ्रष्टाचारको आहाल बनाउने भ्रष्ट्राचारीलाई निर्मम कारबाही गर्न आवश्यक वातावरण तयार पार्नु मेरो पहिलो काम हुनेछ,’ उनले भने ।
पछिल्लो समय जेनजी आन्दोलनलाई महतले ‘पुरानो दलतन्त्रप्रतिको विस्फोट’ भन्दै यसको मागलाई समर्थन जनाएका छन् ।
‘जेनजीले उठाएको आवाजले पुरानो शक्ति संरचनालाई चुनौती दिएको छ । यो नै वैकल्पिक शक्तिको जग हो,’ उनले भने । उनले राजधानीसँग जोडिएर पनि उपेक्षित दक्षिण ललितपुरको समस्या विशेष रूपमा उठाए ।
उनले दक्षिण ललितपुरका तीन वटा गाउँपालिकालाई छुट्टै निर्वाचन क्षेत्र बनाउन पहल गर्ने घोषणा गरेका छन् ।
ललितपुरका ढुंगाखानी र क्रसर उद्योग राजनीतिक संरक्षणमा होइन, उल्टै गैरकानुनी दोहनको चपेटामा परेको उनले आरोप लगाए । उनले भने, ‘यो क्षेत्रमा करिडोर व्यवस्थित गर्न र पुरातात्विक क्षेत्रलाई जोगाउन जरुरी छ ।’
महतले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत महत्वाकांक्षा नभई वैकल्पिक राजनीतिक शक्तिको सुरुवातको रूपमा व्याख्या गरे ।
‘स्वतन्त्र उम्मेदवारी अहिलेको आवश्यकता हो । तर यो मात्र होइन, हामीले बलियो वैकल्पिक शक्ति निर्माणमा लाग्नैपर्छ,’ उनले भने ।