काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले लोकतन्त्र र देशलाई कमजोर पार्न खोज्ने शक्तिहरु सफल नहुने बताएका छन् ।
आइतबार बिहान निजी निवास महाराजगञ्जमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले फेरि पार्टीहरु जागरुक भएर, एकीकृत भएर लोकतन्त्र बचाउन र देशलाई मजबुत बनाउन अघि बढ्ने बताए ।
कांग्रेस पुनः माथि उठ्ने बताउँदै उनले भएका कतिपय कमजोरी त्रुटिहरुलाई पनि समीक्षा गरेर अघि बढ्ने बताए । उनले पार्टी कार्यालय र नेताहरुको घर आगजनी, तोडफोड गरे पनि आत्मविश्वास नहारेको र पुनः जागरुक भएर उठ्ने अठोट व्यक्त गरे ।
प्रवक्ता महतले राजनीतिक दलहरुलाई थाङथिलो पार्ने षड्यन्त्रअनुसार काम गरिएको भन्दै ठुलो बलिदान र त्याग तपस्याबाट राजनीतिक दलहरु निर्माण भएको बताए । उनले कांग्रेस समीक्षासहित आउने कार्यदिशा तय गर्ने बताए । नेपाललाई विकास निर्माण र रोजगारीको कोषमा लैजाने बारेमा कांग्रेसले गम्भीर चिन्तन गर्ने बताए ।