नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय शक्तिलाई कमजोर बनाउने खेलबाट जोगाउन नसक्दा देश भूराजनीतिक द्वन्द्वको चपेटामा परेको बताएका छन् । सोही कारण बैध सत्तालाई कमजोर बनाउने डिप स्टेटको प्रयोगशाला बनाएको उनले टिप्पणी गरेका छन् ।
सबै समस्याको समाधान लोकतान्त्रिक बाटोबाट नै खोज्न सकिन्छ भन्ने कुरामा नवयुवाहरुको विश्वास जित्न नसकेको पनि महासचिव पोखरेलले स्वीकारेका छन् । सोमबार सामाजिक सञ्जालमा राजनीतिक टिप्पणी लेख्दै उनले भनेका छन्, 'नवयुवाको भावना र चाहनासंग नेपाली राजनीतिलाई जोड्न सकेनौ । तर यसको अर्थ नेपालाई बहुलवाद, समावेशीता, लोकतान्त्रिक गणतन्त्र र स्वाधिनता एवम् स्वाभिमानको बाटोबाट पछि धकेल्ने प्रयास सफल हुन्छ भन्ने होइन ।'
महासचिव पोखरेलले ढिलोचाँडो मुलुक लोकतन्त्रको जनसार्वभौम बाटोतिर फर्काइने पनि बताएका छन् । 'नव युवाहरुको विश्वास जितिनेछ', उनले भनेका छन्, 'एमाले निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्दै नेपाली विशेषतामा आधारित समाजवाद निर्माणको दिशामा अघि बढ्न प्रतिवद्ध छ र रहनेछ ।'
शंकर पोखरेलको टिप्पणी जस्ताको त्यस्तैः
हाम्रो देश भूराजनीतिक द्वन्द्वको चपेटामा पर्यो । राष्ट्रिय शक्तिलाई कमजोर बनाउने उनीहरुको खेलवाट हामीले आफुलाई जोगाउन सकेनौ । हाम्रो देश पनि बैध सत्तालाई कमजोर बनाउने डिप स्टेटको प्रयोगशाला बनाइयो । हामीले सबै समस्याको समाधान लोकतान्त्रिक वाटोवाट खोज्न सकिन्छ भन्ने कुरामा नवयुवाहरुको विश्वास जित्न सकेनौ । उनीहरुको भावना र चाहनासंग नेपाली राजनीतिलाई जोड्न सकेनौ । तर यसको अर्थ नेपालाई बहुलवाद, समावेशीता, लोकतान्त्रिक गणतन्त्र र स्वाधिनता एवम् स्वाभिमानको वाटोवाट पछि धकेल्ने प्रयास सफल हुन्छ भन्ने होइन ।
ढिलोचाडो मुलुक लोकतन्त्रको जनसार्वभौम वाटोतिर फर्कने छ र फर्काइने छ । नव युवाहरुको विश्वास जितिनेछ । नेकपा (एमाले) निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्दै नेपाली विशेषतामा आधारित समाजवाद निर्माणको दिशामा अघि वढ्न प्रतिवद्ध छ र रहनेछ ।