काठमाडौँः जेनजी आन्दोलनका आह्वानकर्ता सक्कली र ‘हाइज्याकर’भन्दै प्रत्यक्ष–अप्रत्यक्ष एकअर्कालाई आरोप लगाइरहेका मिराज ढुंगाना र सुदन गुरुङ शनिबार दिनभर सँगसँगै देखिए । रातो कारमा सँगै सवार उनीहरू गृहमन्त्रीलाई ध्यानाकर्षण गर्नेदेखि विपद् व्यवस्थापन प्राधिकरणको रिपोर्टिङ लिनसमेत सँगै थिए ।
यो दृश्यले केही नयाँ सन्देश दिएको छ । खासगरी, जेनजी आन्दोलनको जनादेशलाई सरकारसँग वार्ता गरेर संस्थागत गर्ने भन्दै टोली गठन गरेसँगै विभाजित देखिएका जेनजी अगुवाहरू पुनः संगठित हुन थालेको प्रस्ट देखिएको छ । एकअर्कामाथि आरोपप्रत्यारोप गरिरहेका युवा एकै ठाउँ आउनुलाई नयाँ दल गठनको गृहकार्यका रूपमा हेरिएको छ ।
आफ्ना एजेन्डा स्थापित गर्न भन्दै संगठित भएका युवाको नजर विस्तारै फागुन २१ मा हुने आमचुनावमा पर्न थालेको छ । सरकार निर्माण र उसले गर्ने निर्णयमा एकथरी अगुवा हावी भएको भन्दै असन्तुष्ट रहेका युुवा पनि पछिल्लोपटक एकाकार हुुन लागेका हुन् ।
जेनजी आन्दोलनको उपलब्धिलाई संस्थागत गर्दै सबैको साझा एजेन्डा बनाउने कुरामा आफूहरू विस्तारै एकाकार हुँदै गएको जेजनी नेता खेमराज साउदले बताए । सातै प्रदेशमा संयोजक तोकेर अभियानलाई बलियो बनाउँदै लगेको उनको भनाइ छ । ‘हामीले सातवटै प्रदेशमा संयोजक बनाएर अघि बढेका छौं । पहिला विभिन्न समूहमा देखिएका युवा साथीहरू अहिले एक ठाउँ हुनेक्रम जारी छ,’ उनले भने ।
प्रदेशस्तरमा संगठित भएर त्यहाँका समस्या पहिचान गर्ने र के कसरी काम गर्न सकिन्छ भनेर छलफल चलाउँदै गएको उनले मध्यान्हलाई बताए । अहिले विपद् व्यवस्थापनकै चरणमा रहेकाले केही दिन विपद्सँग सम्बन्धित काममा व्यस्त हुने साउद बताउँछन् । जेनजीले आगामी प्रतिनिधि सभाको निर्वाचनमा भाग लिनेगरी दल दर्ताको प्रक्रियासमेत अघि बढाएको साउदले बताए । उनले भने, ‘हामी सबै संगठित हुँदै पार्टी निर्माणको विषयमा छलफल गर्दै छौं । अन्तमा पार्टी नै दर्ता गरेर जाने हो । तर के कसरी त्यहाँ पुग्ने भन्ने विषयमा आन्तरिक छलफल भइरहेको छ ।’
यद्यपि उनीहरूबीच वर्तमान व्यवस्थाबारे फरक मत भने कायमै छ । जेनजीका अगुवा मिराज ढुंगाना र पछिल्लो समय चर्चामा आएका प्रवेश दाहाल प्रदेश खारेजीको पक्षमा अडान कायमै छ । तर ‘हामी नेपाल’ संस्थाका प्रमुख सुदन गुरुङ प्रत्यक्ष निर्वाचित कार्यकारी र प्रदेश खारेजीको पक्षमा नरहेको बुझिन्छ । उनी अहिले नै संविधानलाई चलाउने पक्षमा छैनन् । वर्तमान सरकारसमेत संविधानको विशेष व्यवस्थाअनुसार बनेका कारण सरकार बनाउने पक्ष संविधानको मर्म मास्न नहुने पक्षमा उभिएका देखिन्छन् । रक्षा बमसमेत संवैधानिक तवरबाटै निकास खोज्नुपर्ने पक्षमा छिन् । प्रत्यक्ष निर्वाचित कार्यकारीको प्रस्तावमा उनी सहमत छैनन् ।
अहिले प्रदेश खारेजी र प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको मुद्दा उठाउँदा सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारविरुद्ध गएको देखिने भएकाले संविधान बचाएरै जानुपर्ने अवस्था रहेको हामी नेपालका प्रमुख गुरुङले बताउँदै आएका छन् । वर्तमान संविधानभन्दा बाहिर जान नमिल्ने र बरु आउँदो फागुन २१ गतेको निर्वाचनमार्फत जेनजीहरूको प्रतिनिधित्वलाई सुनिश्चितता गर्नतिर लाग्नुपर्ने उनको भनाइ छ ।
उता, धरानका मेयर हर्क साम्पाङले आउँदो चुनावलक्षित गरी राष्ट्रिय श्रम संस्कृति पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेस गरिसकेका छन् । दल दर्ताका लागि निवेदन आइसके पनि आवश्यक कागजात अध्ययनपछि मात्र पार्टी दर्ताको प्रक्रिया अघि बढ्ने निर्वाचन आयोगले जनाएको छ ।
साम्पाङ समर्थितबाहेक सबै जेनजीहरू दल गठन गर्नेगरी संगठित हुन लागेका छन् । विभिन्न छलफलसहितका गतिविधिमा छुुटेका युुवा अभियान्तालाई जोड्दै आन्दोलनका एजेन्डामा एकमत बनाउन उनीहरू सक्रिय छन् । जेनजी प्रतिनिधि समेटिएको वार्ता टोलीले प्रधानमन्त्री सुशीला कार्कीको रोहवरमा राष्ट्रपति रामचन्द्र पौडेलसँग वार्ता गर्ने भनिए पनि टिममा रहने व्यक्तिका विषयमा कुुरा नमिल्दा जेनजी लिडर नै आन्तरिक विवादमा फसेका थिए । कार्की सरकार निर्माणको चरणमा विभिन्न व्यक्ति केन्द्रित विभाजनमा पुुगेका उनीहरू एकले अर्कोलाई अस्वीकार गर्ने तहमा पुगिसकेका थिए ।
पछिल्लोपटक पत्रकार सम्मेलनमा विराटनगरका प्रवेश दाहालसहितको टोलीले प्रधानमन्त्री बनाउने छलफलमा भाग लिएका ‘हामी नेपाल’ संस्थाका प्रमुख सुुदन गुुरुङ र उनको समूह गैरजेनजी र गैरआन्दोलनकारी भएको आरोप लगाउँदै आएका छन् । काठमाडौं महानगरका मेयर बालेन शाहसँग सोझो सम्र्पकमा रहेका गुरुङ समुहले कार्की सरकार गठन र मन्त्री चयनमा आफ्नो संलग्नता रहेको बताउँदै आएको छ । जेनजी समर्थित सरकार बनेपछि गुरुङ हाबी देखिँदै आएका छन् । उनीहरू सरकारी बैठकहरूमा पनि सहभागी हुँदै आएका छन् । शुक्रबार मात्रै प्रधानमन्त्री कार्कीसँग उनीहरूले साढे २ घण्टा छलफल गरेका छन् । विपद् व्यवस्थापनको पछिल्लो बैठकमा सहभागी भएर गुरुङले दिएको निर्देशनात्मक सुझावको आलोचना भइरहेको छ ।
आन्दोलनमा स्वयसेवकको भूमिकामा देखिएका सुदन गुरुङले सरकार निर्माणबारे भएका सबै तहको छलफलमा जेनजीतर्फको प्रतिनिधित्व र नेतृत्व गरेका थिए । उनको सक्रियताले वास्तविक जेनजी र आन्दोलनको मुद्दा नै ओझेलमा परेको जेनजी नेता प्रवेश दाहालले आपत्ति जनाएका छन् ।
गुरुङ र उनको समूहसँग रुष्ट बनेका जेनजीहरूले छुट्टै बैठक राखेर वार्ता समितिसमेत बनाएका थिए । सुरुमा स्वःस्फुर्त तरिकाले अघि बढिरहेका जेनजी अभियन्ताले असोज ११ गते पहिलोपटक संगठित भएर वार्ता टोली गठन गरेका थिए । वार्ता टोलीमा पुरुषोत्तम यादव, मिराज ढुंगाना, प्रवेश दाहाल, बब्लु गुप्ता, रक्षा बम, टिकाराम लिम्बु, योग्यता भण्डारी, जेम्स कार्की, कासिफ महम्मद मियाँ र अर्पित कुँवर छन् । तर उनीहरूले राष्ट्रिपतिसँग वार्ता गर्ने भने पनि समय पाएका छैनन् ।
सार्वजनिक भएको माइन्युटमा हस्ताक्षर नगरेकी रक्षा बमले आफूलाई नसोधीकन वार्ता टोलीमा राखिएको भन्दै उनले असहमति जनाएकी थिइन् । सरकार निर्माणको समयमा सुदन समूहमा नसमेटिए पनि पछिल्लो समय धेरै युवाबीच एकता हुँदै गएको पाइएको छ ।