२०८२ असोज २७ गते सोमवार / Oct 13 , 2025 , Monday
२०८२ असोज २७ गते सोमवार
Ads

भारतीय बाँधले नेपाली भूमि बर्सेनि डुबानमा

shivam cement
धर्मेन्द्रकुमार साह
२०८२ असोज २० गते १७:३२
भारतीय बाँधले नेपाली भूमि बर्सेनि डुबानमा

रौतहटः सिमावर्ती भारतीय क्षेत्रमा बनाइएका बाँधहरुको कारण नेपाली भूमि बर्षेनी डुबानमा पर्दै आएको छ । रौतहट, पर्सा, बारा, सप्तरी र बाँकेलगायतका जिल्लाहरुको सीमा क्षेत्रमा भारतले एकतर्फी रूपमा बनाएको बाँधले सडक संरचना र निकासमा पुर्‍याएको अवरोधले नेपाली भूभाग बर्षेनी डुबानमा पर्दै आएको हो ।

गत अशोज १८ गते परेको अविरल वर्षा र त्यसपछि आएको बाढीको पानी निकास हुन नपाउँदा रौतहट सदरमुकाम गौर तेस्रो दिन पनि पूर्णरुपमा डुबानमा परेको छ । सीमा क्षेत्रमा निर्माण गरिएको सुलिस गेट खोल्न भारतीय पक्षले अस्विकार गर्दा सदरमुकाम गौर डुबानमा परेको हो । डुबानका कारण जनजीवन समेत कष्टकर बन्दै गएको छ ।

बाग्मती, लाल बकैया र झाँझ नदीमा पानीको बहाव उच्च भएसँगै गौर छिरेको बाढीको पानी समयमा निकास हुन नपाउँदा रौतहटका आधा दर्जनभन्दा बढी पालिकाकाका बस्तीहरू प्रभावित भएका छन् । पानीले सहज निकास नपाउँदा गौरका मुख्य सडकहरूमा ४ फिटसम्म पानी जमेको छ भने रौतहटका अधिकांश सरकारी कार्यालयहरु डुबानमा परेका छन् ।

जिल्ला प्रशासन कार्यालय, पूर्वाधार विकास कार्यालय, जिल्ला समन्वय समिति, कृषि विकास बैंक, गौर नगरपालिका लगायतका कार्यालय परिसरमा बाढीको पानी पसेको छ भने सशस्त्र प्रहरीको गौर भन्सारमा रहेको बीओपी, नेपाल प्रहरीको भन्सार सुरक्षा चौकी, सशस्त्र प्रहरीको बेलबिछवामा रहेको बीओपी, नेपाल प्रहरीको चौकी, सशस्त्र प्रहरीको नम्बर ११ गण समेत डुबानमा परेका छन् । नेपाली सुरक्षा अधिकारीहरुले सुलिस गेट खोल्न भारतीय पक्षसँग पटक–पटक आग्रह गर्दा समेत भारतीय पक्षले अटेरी गरेपछि डुबान भएकाे बताए ।

रौतहट जिल्लाका प्रमुख जिल्ला अधिकारी बिनोद खड्काले भारतीय समकक्षीलाई पटक–पटक बाढीको पानी निकासाको लागि सुलिस गेट खोल्न गरेको आग्रह भारतीय पक्षले नमान्दा बाढी आएको ४८ घण्टा बितिसक्दा समेत गौरका सडकहरुमा पानी भरिएको बताए ।

बाढीका कारण शैक्षिक संस्थान, बजार तथा कार्यालयहरु खुल्न नसकेपछि जनजीवन अस्तव्यस्त बनेको छ । यसैबीच गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले भारतीय पक्षको समन्वयमा सुलिस गेट खोल्ने सहमति भएको बताएका छन् । आफ्नो सामाजिक संजाल फेसबुकमार्फत उनले गौरमा जमेको पानीको निकासको लागि भारतीय पक्षसँग समन्वय भएको बताउँदै चाँडै पानीले निकास पाउने विश्वास व्यक्त गरेका छन् ।

गौर नगरपालिकाका पूर्व नगर प्रमुख अजय कुमार गुप्ताले भारतीय पक्षसँग बार्ता गरी सुलिस गेट समयमा खोल्ने वातावरण निर्माणमा जोड दिएका छन्  ।

भारतीय पक्षले दशगजाको दक्षिणतर्फ बाधकै स्वरुपमा बनाएको सैनिक सडक समेतले पानी निकासमा बाधा उत्पन्न गर्दै आएको हो । रौतहटमा झाँझ, बागमती, लाल बकैया र चादी नदीमा पानीको बहाव अत्यधिक भएर बाढी आउदा वर्षेनी रौतहटको गौर, बन्जरहा, गंगा पिप्रा, मत्सरी, परोहा, गुजरा, गढीमाई, बेलबिछवा, पिप्रा रजबाडा, बडहरवा, बन्जरहा, इनर्वा, लक्ष्मिनिया, मर्यादपुर, बसन्तपट्टी र तेजापाकडका बस्तीहरू डुबानमा पर्दै आएकोमा पछिल्लो केही वर्षदेखि गौर हप्तौसम्म डुबानमा पर्न लागेको हो । 

गत वर्ष अशोज १२ गते आएको बाढीको पानी समेत भारतीय पक्षले एकतर्फी रुपमा थुनेर राख्दा गौरमा ४ दिनसम्म पानी जमेको थियो । नेपालका सिमावर्ती सहरहरु गौर ,मलंगवा, बिरगंज, सप्तरीको हनुमाननगर, कंकालिनी लगायतका सहरहरु बर्सेनि डुबानमा पर्दै आएका छन् । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise