काठमाडौंः निर्वाचन आयोगले आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ ।
आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले एक विज्ञप्ति जारी गर्दै नयाँ दलले आगामी कात्तिक ३० गतेअघि नै दल दर्ताको प्रमाणपत्र लिनुपर्ने जनाएका छन् । निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय भने मंसिर १ गतेदेखि १० गतेसम्म रहेको छ ।
फागुन ३ देखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार हुने र तत्पश्चात् प्रचारप्रसार निषेधको अवधि रहने विज्ञप्तिमा उल्लेख छ ।
फागुन २१ गते विहान ७ बजेदेखि वेलुका ५ बजेसम्म मतदान हुने र दुवै निर्वाचन प्रणालीतर्फको मतपेटिका संकलन भएपछि मतगणना प्रारम्भ गरिने छ। समानुपातिक निर्वाचन प्रणालीका लागि मंसिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने र पौष १८ र १९ गते बन्दसूची पेस गर्ने कार्यतालिका रहेको छ।