उदयपुर : स्व. युवराज (कैलाश) राईको स्मृतिमा आयोजित तेस्रो फुटबल प्रतियोगिताको उद्घाटन खेलमा इलाभेन स्टार फुटबल समूह, बोक्सेले रिभरसाइड युवा समूह धरमपुर, सिरहालाई ९-० को गोलअन्तरले पराजित गरेको छ ।
जिल्ला फुटबल संघ उदयपुरको समन्वय र बगाहा युवा समूहको आयोजनामा बगाहा खेल मैदानमा शनिबारदेखि सुरु भएको यो प्रतियोगिता कात्तिक १ गतेसम्म चल्नेछ ।
प्रतिस्पर्धात्मक खेलमा इलाभेन स्टारका शिशिर लेखीले १७औं मिनेटमा पहिलो गोल गरे । दोस्रो हाफमा योगेश विष्टले ५२औं मिनेटमा दोस्रो, विवेक चौधरीले ५८औं मिनेटमा तेस्रो, सोइसन राईले ५९औं मिनेटमा चौथो र विशाल चौधरीले ६२औं मिनेटमा पाँचौं गोल गरे ।
विशालले थप एक गोल गर्दै टिमलाई छैटौं गोल दिलाए । आशिष भुजेलले ७४औं मिनेटमा सातौं गोल गरे भने शिशिर लेखीले थप दुई गोल गर्दै टिमलाई ९-० को जित दिलाए । शिशिर लेखी खेलको 'म्यान अफ द म्याच' घोषित भए ।
आयोजकका अनुसार आइतबार दमौटी फुटबल समूह र नेपालटार आदर्श युवा समूहबीच प्रतिस्पर्धा हुनेछ ।