२०८२ असोज ३० गते बिहिवार / Oct 16 , 2025 , Thursday
२०८२ असोज ३० गते बिहिवार
Ads

अप्ठ्यारोमा प्रधानमन्त्री, जेनजी र दलहरूको सेतु बन्न हम्मेहम्मे

shivam cement
मुकुन्द लामिछाने
२०८२ असोज २६ गते ०६:३५
अप्ठ्यारोमा प्रधानमन्त्री, जेनजी र दलहरूको सेतु बन्न हम्मेहम्मे

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्की राजनीतिक दलहरू र जेनजीको विश्वास जितेर काम गर्नुपर्ने दबाबमा छिन् । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले राखेको सर्वदलीय बैठकमा सहभागी भइन् । शनिबार जेनजीका प्रतिनिधिहरूसँग छलफलमा रहिन् ।

सर्वदलीय बैठक र जेनजीसँगको छलफलको केन्द्रमा प्रधानमन्त्री कार्की परिन् । दुवै पक्षले उनैमाथि शंका र प्रश्न गरे । राजनीतिक दलले समयमा चुनाव हुन्छ कि हुँदैन भनेर प्रश्न मात्रै गरेनन्, चुनावमा सहभागी हुने वातावरण बन्दैन कि भनेर आशंकासमेत गरे । जवाफमा प्रधानमन्त्री कार्कीले चुनावमा सहभागी भएर अगाडि बढ्न दलहरूलाई आग्रह गरिन् । उस्तै अवस्था जेनजीसँगको छलफलमा पनि रह्यो । सरकार समयमा चुनाव नगर्नेतिर लाग्ने हो कि भन्ने समाजमा उठेको प्रश्न के हो भनेर जेनजीका प्रतिनिधिहरूले गरे । जवाफमा प्रधानमन्त्री कार्कीले चुनावकै लागि आफू प्रधानमन्त्री बनेको बताइन् । 

जेनजीको आन्दोलनकै जगमा प्रधानमन्त्री बनेकाले जेनजीका प्रतिनिधिहरूले धेरै प्रश्न गर्नु स्वाभाविक थियो । त्यसक्रममा उनीहरूले आइएनिओको जस्तो सरकार हुन पुगेको भनेर भएको टिप्पणी प्रधानमन्त्री कार्कीसमक्ष राखे । यस्तो भाष्यको तथ्य कतै भेटिए त्यो सैह्य नहुने चेतावनी दिए । उस्तै गरी अघिल्लो दिन दलहरूले भूराजनीतिक चलखेलको कुरा गर्दै सरकारको अन्तर्राष्ट्रिय सम्बन्धबारे चासो राखेका थिए । 

राजनीतिक दलहरूले जस्तै जेनजीले पनि शंकायुक्त प्रश्न गरेपछि शनिबार जेनजीसँग प्रधानमन्त्री कार्की केही गरम भएर प्रस्तुत भइन् । आफू आन्दोलनको बलमा बनेको अन्तरिम सरकारको नेतृत्वमा रहेको र आन्दोलन नेपाली नवयुवाले गरेकोमा प्रस्ट हुन आग्रह गर्दै उनले अन्तर्राष्ट्रिय चलखेल र सम्बन्धबारेको प्रश्नमा धेरै व्याख्या गरिनन् । बरु जेनजीले समेत यस्तो प्रश्न गरेकोमा आक्रोश पोखिन् । 

एकातिर राजनीतिक दल सत्ताबाट हट्नुपरेको पीडामा प्रधानमन्त्रीमाथि आक्रोश पोखिरहेका छन् । सरकारले भ्रष्टाचार र सुशासनका सन्दर्भमा लिन सक्ने कदमप्रति दलहरू सशंकित छन् । अर्कोतिर जेनजी पुरानै राजनीतिक शक्तिसँग सौदाबाजीमा रहने हो कि भनेर खबरदारी गरिरहेका छन् । यस्तो अप्ठ्यारो गुजार्दै अगाडि बढ्दै गरेकी कार्की भने चुनाव हुने र गर्नुपर्नेमा दृढ रहेको बताउँछिन् । 

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भने सरकारलाई जेनजी आन्दोलनको वास्तविक प्रतिनिधिबारे प्रस्ट हुन सुझाउँछन् । ‘असफलता टुहुरो भए पनि सफलताका सय जना पिता हुन्छ’ भन्ने भनाइ उद्धृत गर्दै डा. भट्टराईले सामाजिक सञ्जालमार्फत सरकारलाई आन्दोलनका वास्तविक प्रतिनिधि चिनेर अगाडि बढ्न आग्रह गरेका हुन् । उनले लेखेका छन्, ‘भदौ २३ गते जेन–जी आन्दोलन सुरु हुँदा जसले औपचारिक रूपमा पहल गरेका र सडकमा नेतृत्व गरेका थिए तिनलाई नै मुख्य प्रतिनिधि मान्ने र जसले पछि सहयोग गरे तिनलाई सहयोगी मान्ने कुरा नै सही हुन्छ ।’

उनको थप सुझाव छ, ‘अहिलेको अन्तरिम सरकार कसैको दयामाया र कृपाले नभई जेन–जी विद्रोहको बलमा र ऐतिहासिक आवश्यकताले गठन भएको हुँदा यसले भित्रीबाहिरी कुनै शक्तिको डरत्रास नमानी आफ्नो निष्ठा आन्दोलनकारीप्रति रहेकोमा प्रस्ट हुँदै प्राप्त कार्यादेश पूरा गर्नेतर्फ दत्तचित्त भएर लाग्नुपर्छ ।’ 

आमजनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साह भने प्रधानमन्त्री कार्कीले रियल जेनजी चिनेको छैन भनेको भन्दै त्यसलाई हास्यास्पद अभिव्यक्तिको संज्ञा दिन्छन् । 

आजपाको काठमाडौं उपत्यका विशेष कमिटीको शनिबार काठमाडौंमा बसेको बैठकलाई सम्बोधन गर्दै साहले भने, ‘जेनजीको आन्दोलनको बलमा प्रधानमन्त्रीको कुर्सीमा विराजमान हुनुहुन्छ तर असली जेनजी अगुवा को हो ? चिनेको छैन भनेर बोल्नुहुन्छ, उहाँको अभिव्यक्ति हास्यास्पद त हो नै, आपत्तिजनक पनि छ ।’ 

ADV

सम्बन्धित खबर

Advertise