
कपिलवस्तु : कपिलवस्तुको कृष्णनगरमा प्रहरीले २२ लाख रुपैयाँभन्दा बढी मूल्यका यौन खेलौना (सेक्स टोय) बरामद गरेको छ । कृष्णनगर नगरपालिका–२ स्थित महेन्द्र पार्क नजिक बेवारिसे अवस्थामा उक्त सामान फेला परेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय कृष्णनगरका अनुसार २०८३ साल कात्तिक ११ गते बिहान ११ः३० बजे प्रहरी निरीक्षक कृष्णबहादुर कुँवरको कमान्डमा खटिएको पाँच सदस्यीय प्रहरी टोलीले सामान बरामद गरेको हो ।
बरामद गरिएका सामानको कुल मूल्य २२ लाख ९२ हजार १०० रुपैयाँ रहेको प्रहरीले जनाएको छ । बेवारिसे अवस्थामा फेला परेका सामानलाई कानुनी प्रक्रिया पूरा गरी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय कृष्णनगरमा राखिएको छ ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ । बरामद सामान आवश्यक कारबाहीका लागि कृष्णनगर भन्सार कार्यालय पठाउने प्रक्रिया अघि बढाइएको इलाका प्रहरी कार्यालय कृष्णनगरले जानकारी दिएको छ ।
सामान कसले र कुन प्रयोजनका लागि उक्त स्थानमा छाडेको हो भन्ने विषयमा भने अनुसन्धानपछि थप विवरण खुल्ने प्रहरीले जनाएको छ ।