२०८२ कार्तिक १७ गते सोमवार / Nov 03 , 2025 , Monday
२०८२ कार्तिक १७ गते सोमवार
Ads

नागरिकको चाहनाअनुसार काम गरिराखेका छौं : नगरप्रमुख श्रेष्ठ

shivam cement
सूर्यप्रसाद भुसाल
२०८२ कार्तिक १६ गते २०:४८
नागरिकको चाहनाअनुसार काम गरिराखेका छौं : नगरप्रमुख श्रेष्ठ

अर्घाखाँची : सन्धिखर्क नगरपालिका अर्घाखाँचीका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि र पर्यटनलाई पहिलो प्राथमिकतामा राखेर नागरिकको चाहनाअनुसार काम भइरहेको बताएका छन् । 

सन्धिखर्क नगरपालिकामा आयोजित कार्यक्रममा बोल्दै नगरप्रमुख श्रेष्ठले नगरपालिका पशु र दुध उत्पादनमा आत्मनिर्भर भई आय–आर्जनमा समेत अगाडि बढेको उल्लेख गर्दै समृद्ध र दिगो अर्थतन्त्र हासिल गर्ने दिशामा आफूहरू लागिपरेको बताए ।

उनका अनुसार जनप्रतिनिधि बनेपछि दुध उत्पादन गर्ने किसानलाई अनुदान, पशु रोग नियन्त्रण, डाले घाँस कार्यक्रम, पशु र कृषि प्रोफाइल तयारी, कृषि यन्त्रमा अनुदानलगायतका कार्यक्रम नगरपालिकामार्फत सञ्चालन भएपछि नगरभित्रका किसानहरू कृषि र पशुपालनतर्फ उत्साहित भएका छन् । 

श्रेष्ठले माटो परीक्षण, बिउ, विषादी व्यवस्था, भू–उपयोग नीति लगायतका थुप्रै नियम–कानुन निर्माण गर्दै भौतिक संरचनाका कामहरू पनि अघि बढाइएको जानकारी दिए । उनका अनुसार आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि कृषि कार्यक्रमहरूलाई बदलिँदो परिस्थिति अनुसार किसानमैत्री बनाएर अगाडि बढाउने उद्देश्यसहित नगरपालिकाले काम गरिरहेको छ ।

नगरप्रमुख श्रेष्ठले रोजगारीसँग जोडिएका पूर्वाधार विकासका कामहरू सञ्चालन गरिएको बताउँदै नागरिकले छिटोछरितो सेवा प्राप्त गर्ने, भ्रष्टाचारमुक्त र सुशासनमैत्री नगरपालिका चाहेको कारण सोही अनुसार काम गर्न कर्मचारीहरूलाई आग्रह गरेका छन् । 

शैक्षिक सुधारका लागि नगरपालिकाले विद्यालयहरूमा निरन्तर अनुगमन गर्ने, विद्यालय व्यवस्थापन समिति, प्रअ, तथा शैक्षिक व्यक्तिहरूसँग अन्तक्र्रिया गर्दै समयानुकूल शिक्षामा सुधार र गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षक तथा प्रधानाध्यापकको क्षमता विकासका कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।

स्वास्थ्य क्षेत्रमा दक्ष चिकित्सकसहित आवश्यक स्वास्थ्यकर्मीको जिल्ला अस्पताल अर्घाखाँचीमा व्यवस्थापन गर्न जनप्रतिनिधिहरूले पहल गरेपछि अहिले जिल्ला अस्पतालसहित नगरपालिकाका स्वास्थ्य केन्द्रहरूबाट समेत सेवा प्रवाह भइरहेको नगरपालिका उपप्रमुख मिश्रा आचार्यले बताइन् । 

सन्धिखर्क नगरपालिकाले सबै वडा कार्यालयका प्रशासनिक भवनहरूको निर्माण अन्तिम चरणमा पुगेको र अब सबै वडाहरू आफ्ना भवनबाट सेवा दिन तयार रहेको जानकारी दिएको छ । स्वास्थ्य चौकिहरू पनि निर्माण हुँदैछन् । 

नगरप्रमुख श्रेष्ठले आन्तरिक स्रोत कम भएकाले जनताको सबै माग पूरा गर्न नसकिएको बताए । तर उनले शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, पर्यटन र रोजगारीलाई प्राथमिकतामा राखेर जनताको अपेक्षा र आवश्यकता अनुसार काम गरिरहेको दोहोर्‍याए ।

श्रेष्ठले थपे,‘कार्यालयबाट हुने कुनै पनि काममा राजनीतिक गन्ध आउनु हुँदैन । मानिसहरूले आ–आफ्ना राजनीतिक आस्था बोकेका हुन्छन्, तर काममा त्यसको प्रभाव पर्नु हुँदैन । म जनभावनाअनुसार इमानदार भएर काम गर्न दत्तचित्त छु ।’

उनले इमानदारीपूर्वक काम गर्ने राष्ट्रसेवक कर्मचारीहरूलाई विनाकारण बदनाम गर्ने, धम्क्याउने वा थर्काउने प्रयास भए त्यसलाई सह्य नहुने चेतावनी पनि दिए ।

ADV

सम्बन्धित खबर