२०८३ कार्तिक ९ गते सोमवार / Oct 26 , 2026 , Monday
२०८३ कार्तिक ९ गते सोमवार

लोकतान्त्रिक आचरण र शिक्षा

Nada
डा. देवीप्रसाद आचार्य
२०८३ कार्तिक ९ गते ०६:०५
Shares
लोकतान्त्रिक आचरण र शिक्षा

‘जस्तो बीउ रोप्यो, त्यस्तै फल पाइन्छ’ भन्ने नेपाली लोकवाणी व्यवहारवादी दृष्टिकोणले पनि वैज्ञानिक देखिन्छ । राज्यले कस्तो शिक्षारूपी बीउ रोपेर कस्ता नागरिक उत्पादन गर्ने भन्ने कुरा देशको शिक्षा प्रणालीले निर्धारण गर्छ । शिक्षाले नागरिकको सीप, ज्ञान, आचरण र सामाजिक व्यवहारको आधार निर्माण गर्छ । प्रकृतिवादी दार्शनिक रुसोले शिक्षालाई आचरण निर्माणको माध्यम मानेका छन् । शिक्षाविद् थोमसनले पनि शिक्षा व्यक्तिको बानी, व्यवहार, विचार र धारणामा स्थायी परिवर्तन ल्याउने साधन भएको बताएका छन् । यसरी हेर्दा शिक्षा मानिसको नैतिक आचरण, लोकतान्त्रिक व्यवहार र असल संस्कार सिक्ने आधार हो । तर हाम्रो देशको शिक्षाले अनुशासित, कर्तव्यनिष्ठ, लोकतान्त्रिक, कर्मशील तथा सहिष्णु नागरिक उत्पादन गर्न नसकेको अनुभव हुन्छ । यसर्थ, विद्यालय शिक्षादेखि नै असल आचरण निर्माणसम्बन्धी विषयवस्तु समावेश गर्न आवश्यक छ ।

ncell

अहिले हाम्रो देश लोकतान्त्रिक राजनीतिक व्यवस्थाको अभ्यासमा छ । लोकतन्त्रमा अनुशासनभन्दा अधिकार र आलोचनाले बढी ठाउँ लिएको देखिन्छ । लोकतन्त्र भनेको शासन सञ्चालनको एउटा राजनीतिक पद्धति मात्र होइन, स्वतन्त्र रूपमा सोच्ने, अरूको कुरा सुन्ने, आफ्नो विचार व्यक्त गर्ने र असल व्यवहार गर्ने जीवनशैली पनि हो । शिक्षा र लोकतन्त्र एकअर्काका परिपूरक हुन् । शिक्षाले लोकतान्त्रिक मूल्य, मान्यता, आचरण र अभ्यासलाई समाजमा स्थापित गर्न सकेन भने अराजक गतिविधि बढ्छन्, सामाजिक सद्भाव बिथोलिन्छ र राजनीतिक संस्कार कमजोर हुन्छ । भ्रष्टाचार, बेथिति र कालोबजारीजस्ता विकृतिले प्रश्रय पाउँछन् । हाम्रो समाजमा यस्ता प्रवृत्ति देखिनु चिन्ताको विषय हो ।

लोकतन्त्रले नागरिक अधिकार र कर्तव्यलाई एकै सिक्काका दुई पाटाका रूपमा स्वीकार गर्छ । यी दुवैलाई जीवनशैलीमा अपनाउनुपर्छ । अधिकार र कर्तव्यको जगमा निर्माण भएको समाजमा सामाजिक न्याय, असल व्यवहार, सहिष्णुता र सद्भाव अभ्यासमा देखिन्छन् । यस्ता आचरण भएको समाज शान्तिपूर्ण हुन्छ । देश विकासको मुख्य पूर्वाधार शान्तिपूर्ण समाज हो । आपसी एकता र सामूहिक भावनाको अभावमा विकासले गति लिन सक्दैन ।

हाम्रो समाज विविधताले भरिएको छ । विविधतामा एकताको भावना विकास गर्न शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ । जातीय, सांस्कृतिक तथा धार्मिक विविधता नेपाली समाजको सामाजिक धरातल हो । नागरिकबीच आपसी सद्भाव, मेलमिलाप र सहिष्णु व्यवहार आवश्यक छ । अबको राष्ट्रिय शिक्षा प्रणालीले हरेक नागरिकलाई समाजमा सँगै बस्न, सँगै काम गर्न, एकअर्काको सम्मान गर्न र अधिकार तथा कर्तव्यबीचको सम्बन्ध बुझ्न सक्ने बनाउनुपर्छ । यसका लागि नागरिक शिक्षासम्बन्धी विषयवस्तु विद्यालय तहदेखि उच्च शिक्षासम्मका पाठ्यक्रम र पाठ्यपुस्तकमा समावेश गर्न आवश्यक छ ।

हरेक व्यक्ति वा समुदाय आफ्नो समाजको सांस्कृतिक प्रतिनिधि हो । समाजमा विकसित चालचलन, मूल्य, मान्यता, रहनसहन, आचरण एवं सामाजिक व्यवहार एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुँदै जान्छन् । ज्ञान तथा व्यवहार हस्तान्तरणको विधि र प्रक्रियामा समाजको शैक्षिक चेतनाको स्तरले पनि प्रभाव पार्छ । शिक्षाले प्रचलित सांस्कृतिक अभ्यासको पहिचान गरी तिनको संरक्षण, संवद्र्धन र विकासका लागि तर्क तथा तथ्यका आधारमा काम गर्छ । धार्मिक सम्प्रदायमा धर्मले निर्देशित गरेका चलनलाई पुस्तान्तरण गर्दा धर्मशास्त्रका ज्ञान, विज्ञान र निर्देशनको सही अर्थ बुझ्न तथा तिनको विवेकपूर्ण व्याख्या गर्न पनि शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ ।

शिक्षाले निर्धारण गरेको बाटोमा समाज निर्देशित हुन्छ । यस अर्थमा समाज र शिक्षाबीच अन्योन्याश्रित सम्बन्ध छ । हाम्रो शिक्षामा नैतिक आचरण विकास गर्ने विषयवस्तुको अभाव लामो समयदेखि खड्किएको छ । समाजमा अनुशासनको दायरा साँघुरिँदै गएको अग्रजहरूको अनुभव छ । हाम्रो शिक्षाले अनुशासित तथा कर्तव्यनिष्ठ विद्यार्थी उत्पादन गर्न नसकेको शिक्षक र अभिभावकको गुनासो पनि सुनिन्छ । असल आचरण निर्माणबिनाको शिक्षाले व्यक्ति, घरपरिवार, आफन्त, छिमेक, समुदाय, समाज र सिंगो राष्ट्रमा सहनशीलता, सामाजिक सद्भाव तथा सहिष्णुतामैत्री व्यवहार बलियो बनाउन सक्दैन ।

प्रसिद्ध शिक्षाविद् तथा लेखक हेलेन केलरका विचारमा सहनशीलता शिक्षाको उच्चतम उपलब्धिमध्ये एक हो । अहिले समाजमा आफ्नै शिक्षित छोराछोरीबाट वृद्ध आमाबुबा अपहेलित हुनुपरेका घटना देखिन्छन् । जन्मदिने बाबुआमाले श्रवणकुमारजस्ता सन्तान पाउन सकेका छैनन् । शिक्षा दिने गुरुहरूले एकलव्यजस्ता चेला उत्पादन गर्न सकेका छैनन् । यस कोणबाट आजको शिक्षा प्रणालीलाई केलाउँदा लोकतान्त्रिक व्यवहार निर्माणमा हाम्रो शिक्षा कहाँ चुक्यो भन्ने समीक्षा गर्ने बेला आएको छ ।

आचरण निर्माणको आधार नागरिक शिक्षासम्बन्धी विषयवस्तु हो । देशका तहगत पाठ्यक्रम तथा पाठ्यपुस्तकमा नागरिक शिक्षालाई पर्याप्त महत्त्व दिन आवश्यक छ । नागरिक शिक्षाले विद्यार्थीलाई देशको संविधान, व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका तथा संवैधानिक अंगबारे अध्ययन गर्ने अवसर प्रदान गर्छ । नेपालको संविधान, २०७२ मा व्यवस्था गरिएका प्रावधानबारे आमनागरिकले जानकारी राख्नुपर्छ ।

राज्यको पुनर्संरचनापछि नेपालमा संघीय सरकार, सातवटा प्रदेश सरकार र ७५३ वटा स्थानीय सरकार छन् । यी सरकारका काम, कर्तव्य र अधिकारबारे नागरिकले बुझ्न सकेनन् भने संविधानले प्रदान गरेका हक तथा अधिकार व्यवहारमा कार्यान्वयन गर्न कठिन हुन्छ । लोकतान्त्रिक अभ्यास पनि प्रभावकारी हुन सक्दैन । देशको मूल कानुन, नीति, नियम र विनियमबारे जानकारी नभएसम्म के गर्न हुने र के गर्न नहुने भन्ने कानुनी प्रबन्धबारे पर्याप्त ज्ञान हुँदैन । संविधान, कानुन र नियमको ज्ञानको अभावमा लोकतान्त्रिक आचरणको विकास हुन सक्दैन । यसर्थ, नागरिक शिक्षालाई विद्यालय तहदेखि उच्च शिक्षासम्मका पाठ्यक्रममा समावेश गर्न आवश्यक छ ।

अहिलेका शिक्षित नागरिकमा राष्ट्रभावभन्दा विदेश पलायनको चिन्ता, आपसी मेलमिलापभन्दा आत्मकेन्द्रित सोच, स्वरोजगारीका सीपभन्दा परनिर्भरता र बहुजन हितायभन्दा व्यक्तिगत स्वार्थ हावी भएको देखिन्छ । यस्तो प्रवृत्तिले समाजलाई असल मार्गमा अघि बढ्न कठिन बनाएको छ । आपसी असमझदारी, बेमेल तथा सामाजिक द्वन्द्वले प्रश्रय पाएका छन् । समाजमा मेलमिलाप, लोकतान्त्रिक चरित्र र सहिष्णु व्यवहार आवश्यक हुन्छ ।

शिक्षाले नागरिकमा आफूकेन्द्रित स्वार्थबाट माथि उठ्न सक्ने क्षमताको विकास गराउनुपर्छ । आपसी सद्भाव कायम गर्न, मतभेदबीच मेलमिलाप खोज्न तथा बहुजातीय संस्कार, मूल्य, मान्यता र रहनसहनलाई आत्मसात् गर्न सक्ने गुणको विकास गराउनुपर्छ । समाजमा शान्ति तथा अमनचयन कायम राख्न व्यक्ति बसोबास गर्ने समुदाय, सरकारी तथा गैरसरकारी संस्थाबीच आपसी सद्भाव, मेलमिलाप, सहयोग र शान्तिपूर्ण वातावरण आवश्यक हुन्छ । यस अर्थमा शिक्षाले सबैका मूल्य र मान्यतालाई सम्मान गर्दै लोकतान्त्रिक आदर्शलाई व्यवहारमा उतार्न सक्ने चिन्तनको विकास गर्नुपर्छ ।

लोकतन्त्रको संस्थागत स्थापनाले मात्र लोकतान्त्रिक समाज निर्माण हुँदैन । लोकतन्त्रको विकासका लागि समाजका हरेक क्षेत्रमा संलग्न मानिसको आचरण पनि लोकतान्त्रिक हुन जरुरी छ । अमेरिकी शिक्षाविद् जोन ड्युयीले प्रत्येक पुस्तामा लोकतन्त्रको पुनर्जन्म हुनुपर्ने र त्यसको माध्यम शिक्षा भएको विचार व्यक्त गरेका छन् । उनको भनाइको तात्पर्य लोकतन्त्र एकपटक प्राप्त गरेर मात्र पुग्दैन भन्ने हो । यसको निरन्तरताका लागि प्रत्येक नयाँ पुस्ताले लोकतन्त्रबारे अध्ययन गर्न, यसका मूल्य र मान्यता बुझ्न तथा लोकतान्त्रिक आचरण निर्माण गर्न आवश्यक हुन्छ । यस्तो क्षमता विकास गर्ने महत्त्वपूर्ण माध्यम शिक्षा हो ।

नेपाली समाज बहुसांस्कृतिक, बहुधार्मिक, बहुजातीय एवं बहुभाषिक चरित्रको छ । यहाँका समुदायका आफ्नै मूल्य, मान्यता, भाषा, संस्कृति र संस्कार छन् । यस्तो बहुआयामिक समाजका बालबालिकामा लोकतान्त्रिक, सहिष्णु तथा बहुलवादी चिन्तन विकास गर्न देशको शिक्षा प्रणालीलाई सोहीअनुरूप रूपान्तरण गर्नुपर्छ । विद्यालय तथा विश्वविद्यालयमा अध्ययन गर्ने बालबालिका र किशोरकिशोरी नै भविष्यमा देशका विभिन्न क्षेत्रमा संलग्न हुने भएकाले उनीहरूलाई घरपरिवार र समाजमा मिलेर बस्न, सँगै काम गर्न तथा एक–अर्काको सम्मान गर्न सिकाउनुपर्छ । सबैका सांस्कृतिक र सामाजिक मूल्य तथा मान्यतालाई सामाजिक दबाबबिना स्वस्फूर्त रूपमा स्वीकार गर्न सक्ने उदार व्यवहारको विकास गराउनु आवश्यक छ ।

अन्त्यमा, देशका तहगत शैक्षिक पाठ्यक्रम, पाठ्यपुस्तक तथा शिक्षण सिकाइमा नैतिकता, नागरिक शिक्षा, देशप्रेम र लोकतान्त्रिक मूल्य तथा मान्यतासम्बन्धी विषयवस्तु समावेश गर्न आवश्यक छ । अबको शिक्षाले कर्मशील, अनुशासित, राष्ट्रप्रेमी, उद्यमशील र लोकतान्त्रिक चरित्रले सुसज्जित जनशक्ति उत्पादन गर्नुपर्छ । यसका लागि आवश्यक राष्ट्रिय शिक्षा प्रणाली लागू गर्न राज्यले अब ढिलाइ गर्नु हुँदैन ।

सम्बन्धित खबर