२०८३ असोज १९ गते सोमवार / Oct 05 , 2026 , Monday
२०८३ असोज १९ गते सोमवार

भिसा शुल्क वृद्धिसँगै विदेशीलाई कडाइ गर्दै जापान

Nada
पूर्ण चलाउने
२०८३ असोज १९ गते १२:०१
Shares
भिसा शुल्क वृद्धिसँगै विदेशीलाई कडाइ गर्दै जापान

टोकियो : भिसा माथि गरिएको कडाइपछि फेरि जापानले भिसा शुल्कमा भारी वृद्धि गरेको छ । जापानको स्थायी भिसा (पिआर) शुल्कलाई २० गुणा बढाइएको छ भने स्थायी भिसा लिने नयाँ मापदण्डलाई अझ जटिल बनाइएको छ ।

ncell

नयाँ भिसा शुल्क अक्टोबर १ देखि लागू गरिएको छ । त्यसैगरी बिजनेस म्यानेजर भिसाका लागि न्यूनतम पूँजी ३ करोड येन निर्धारण गरिएसँगै साना तथा मझौला व्यवसायीलाई भविष्यमा के हुने भन्ने चिन्ता बढेको  छ । कतिपय व्यवसायीको नयाँ मापदण्ड पूरा गर्न नसकेकै कारण भिसा रद्द गरिएको छ भने कतिपयले भविष्यको चिन्ता गर्दै जापान छोड्ने क्रम पनि बढेको छ ।

जापान सरकारले नयाँ भिसा शुल्कमा गरेको परिवर्तन अनुसार ३ महिनाको भिसाको लागि १० हजार येन, ३ देखि ६ महिनाका लागि १८ हजार येन, ६ देखि १ वर्षको भिसाका लागि २५ हजार येन, १ वर्षको भिसाका लागि ३३ हजार येन, १ देखि ३ वर्षको भिसाका लागि ४८ हजार येन, ३ देखि ५ वर्षसम्मको ६४ हजार येन र ५ वर्ष वा सोभन्दा माथिका लागि ७५ हजार येन निर्धारण गरेको छ । 

अनलाइनबाट गरिने शुल्कमा भने केही कम गरिएको छ । त्यसैगरी स्थायी भिसा (पिआ ) का लागि १० हजार येनबाट बढाएर २ लाख येन निर्धारण गरिएको छ । अक्टोबरअघि सामान्य भिसा शुल्क ६ हजार येन रहेको थियो भने स्थायी भिसा शुल्क १० हजार येन निर्धारण गरिएको थियो ।

२०२७ को अप्रिल महिनादेखि विदेशीलाई अझ कडाइ गरिने जापानी सञ्चारमाध्यमले उल्लेख गरेका छन् । जापानी भाषा, संस्कृति, नियम, कानुनको पालना जस्ता नियमहरू अनिवार्य गरिने पनि समाचारमा जनाइएको छ ।

जापानले भिसा शुल्कलगायतका अन्य क्षेत्रमा गरिएको कडाइलाई सम्बन्धित क्षेत्रका जानकारहरूले विदेशीलाई कडाइ गर्न नहुने तर्क गरेपनि जापान सरकार भने विदेशीको बढ्दो संख्याले जापानको भविष्यको सुरक्षा चुनौती बढेको निष्कर्षमा पुगेको देखिन्छ ।

जापानलाई लामो समयदेखि कर्मथलो बनाइरहेका नेपाली समाजलाई बुझेका एक सामाजिक अगुवा एवं पत्रकार तिलक मल्ल जापानको परिवर्तित नयाँ नियम कानुनका साथै नयाँ मापदण्डको पालना गरे विदेशीलाई समस्या नहुने बताउँछन् ।

जापानले नियम कानुन पालना नगर्ने विदेशीलाई फर्काउन खोजिरहेको जनाउँदै उनले विभिन्न कार्यक्रममार्फत नेपाली समुदालाई नयाँ अध्यागमन नीतिबारे बुझाउन जरुरी रहेको मध्यान्हलाई बताए ।

टोकियोस्थित एक कम्पनीमा कार्यरत नेपाली नागरिक सुरज क्षेत्रीका अनुसार तत्काल आफूसँग १ वर्षको भिसा भएपनि भविष्यमा भिसा नथपिने हो कि भन्ने चिन्ता बढेको बताए ।

आफूसँगै काम गरेका एक सहकर्मीको जापानमा पढेको पढाइ अनुसारको कामको  विवरण नमिलेकै कारण अध्यागमनले भिसा रद्द गरेको पनि सुरज बताउँछन् । भिसामा गरिएको कडाइका बाबजुद पनि पछिल्लो समय जापानको कानुनी मापदण्ड पूरा गरेका विदेशीहरूले आफ्नो भिसा नवीकरणका साथै नयाँ भिसा प्राप्त गरिरहेका छन् ।

स्वास्थ्य बिमा, कर, नियम कानुनको पालना, जापानी भाषामा ज्ञान भएको खन्डमा जापान अझैपनि सहज हुने धेरैको बुझाइ छ ।

ताजा खबर

सम्बन्धित खबर