२०८२ कार्तिक २२ गते शनिवार / Nov 08 , 2025 , Saturday
२०८२ कार्तिक २२ गते शनिवार
Ads

साउदीस्थित दूतावास र पत्रकार महासंघबीच श्रमिक समस्या समाधानमा केन्द्रित छलफल

shivam cement
अन्जान गुभाजु
२०८२ कार्तिक २२ गते ०८:१२
Shares
साउदीस्थित दूतावास र पत्रकार महासंघबीच श्रमिक समस्या समाधानमा केन्द्रित छलफल

रियाद, साउदी अरब : साउदी अरबमा कार्यरत करिब ४ लाख नेपाली श्रमिकको हकहित र समस्या समाधानका मुद्दालाई प्राथमिकतामा राख्दै साउदीस्थित नेपाली दूतावास र अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजी) शाखा साउदी अरबबीच भेटघाट तथा परिचयात्मक अन्तरक्रिया सम्पन्न भएको छ ।

हालै नवगठित पत्रकार महासंघ शाखाले दूतावासमा आयोजित उक्त भेटघाटमार्फत श्रमिकका समस्या–विवाद, कानूनी सहयोग, दुर्घटनापछिको व्यवस्थापन, उद्धार र सहज सम्पर्क प्रणालीको सुदृढीकरणसम्बन्धी विषयमा दूतावासका प्रतिनिधिसँग विस्तारपूर्वक छलफल गरेको हो ।

कार्यक्रमले श्रमिकको पहुँच र संरक्षणमा सहकार्य–समन्वयलाई प्रभावकारी बनाउने साझा प्रतिवद्धता व्यक्त गरेको छ ।

कार्यक्रममा महासंघका प्रमुख सल्लाहकार अमर सापकोटा, अध्यक्ष विष्णु घिमिरे, महासचिव राजु खनाल, सञ्चार तथा अनुशासन संयोजक राज चेम्जोङ लिम्बू, प्रवक्ता लोकेन्द्र खड्का, सदस्य एल.बी. सिर्पाली लगायतका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

त्यसैगरी दूतावासतर्फबाट लेबर काउन्सिलर कविराज उप्रेति र द्वितीय सचिव दिसेश सिवाकोटी लगायतका अधिकारीहरू उपस्थित थिए ।

यस अवसरमा महासंघतर्फबाट नवनियुक्त कार्यवाहक राजदूत सृजना अधिकारीलाई बधाई तथा सफल कार्यकालको शुभकामना प्रदान गरिएको थियो । छलफलका क्रममा कार्यवाहक राजदूत अधिकारीले महासंघ र नयाँ कार्यसमितिलाई शुभकामना दिँदै श्रमिक हितका विषयमा दूतावास सधैं सकारात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

दुवै संस्थाले सूचना प्रवाहलाई पारदर्शी, सहज र श्रमिकमैत्री बनाउने, आवश्यक परेमा संयुक्त आपतकालीन सहयोग अभियान सञ्चालन गर्ने तथा समुदायस्तरमा कानूनी सचेतना र काउन्सिलिङ कार्यक्रम अघि बढाउने सहमति जनाएका छन् ।

यस भेटघाटलाई साउदीमा कार्यरत लाखौं नेपाली श्रमिकको सुरक्षाबोध, अधिकार संरक्षण र समस्या समाधानका लागि दूतावास–समुदाय–पत्रकार त्रिकोणीय सहकार्य सुदृढ हुने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

ADV

सम्बन्धित खबर