– विशाल नाल्बो, दार्जलिङ्ग
हावामा आफ्नै गति पछ्याएर
उडी रहेको सिमलको भूँवा
त्यसैलाई निसानी बनाएर दगुरेँको
सिवीको लहरा जस्तो बाटो
अम्लिसोको सिट्टाले घोचेको पाइताला
थकान लाग्दा बिसाउने तकसङ उकालोको खामहिम ।
सप्पै सप्पै सप्पै याद भए
अथवा भए अतीत ।
यति धेरै किन आउँछ
बिर्सि जानेहरुको सम्झना ?
केही त मसँग संग्रहित छन् ।
जस्तो तिमीले
जतनसित गासिदिएको गिठ्ठाको लहराले
मेरो चुँडिएको फित्तावला चप्पल
खेतको आली ताच्दा लगाउने पञ्जा/गम्बुट
रुपसाइडमा मैले बोकी हिन्ने क्याटिस्/मटेङ्ग्रा ।
केही त मसँग सुरक्षित छन्
जो जो तिमीसित सम्बन्धित छ ।
जब देख्छु झर्ला जसरी
हावामा हल्लिरहेको फूल
अथवा देख्छु निष्पट्ट अन्ध्यारोले
निल्न आटेको आधा जून ।
त्यति बेला तिम्रो ।
सुर्ता यस्तरी बड्छ
कि मानेको पात माथि असिना झरे जस्तो बन्छ मुटु ।
ककफाइटमा जितेर
तिमीलाई उपहार दिएँको डिपगोली
साटोमा तिमीले बनाएर दिएको
पहेँलो रिवनको गुलाबी फूल
बाटोको ढुङ्गाभरी डल्सिङ ढुङ्गैले लेख्दै हिँडेको
तिम्रो नाउँ सँग जोडेर मेरो नाउँको पहिलो अक्षर
भेट् हुँदा खपी नसक्नुको लाज ।
सप्पै सप्पै सप्पै संकलित छन्
यादहरुको संग्रहमा ।
घरको चेप चेप डुलेर
कोही बेला असुब खबर भुनभुनै बस्छ मौरी
खिड्कीको पल्लाबाट छिरेर जून
खोतली बस्छ तिम्रो तस्विर/चिट्ठी
मन गाइ बस्छ बेचैनी समेटेर उराठ लाग्दो पकन्दी ।
यो सुर्ता यति घाती छ कि
जो मलाई सन्चोसित बाँच्नु दिदैँन ।
Bagbazar Kathmandu
Phone : 014226366, 014228298
Mobile : 9841293261, 9841206411
Email : [email protected]
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2022 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies