२०८२ कार्तिक ३० गते आइतवार / Nov 16 , 2025 , Sunday
२०८२ कार्तिक ३० गते आइतवार
Ads

कञ्चनपुरमा तीन हजार १२५ नयाँ मतदाता थपिए, दुई वटा मतदान स्थल सारियो

shivam cement
२०८२ कार्तिक ३० गते ०७:३७
Shares
कञ्चनपुरमा तीन हजार १२५ नयाँ मतदाता थपिए, दुई वटा मतदान स्थल सारियो

कञ्चनपुर : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा तीन हजार १२५ नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर संगीता विष्टका अनुसार शनिवारसम्म थपिएका मतदातामा पुरुष एक हजार ६८९ र महिला एक हजार ४३६ रहेका छन् ।

मतदाता नामावलीमा नाम दर्ता गर्नेमा बाह्य जिल्लाका पुरुष एक सय ३७ र महिला ९१ जना छन् । जिल्लामा नयाँ मतदाता थपिनु अघिको कुल मतदाताको सङ्ख्या तीन लाख तीन हजार ८७ रहेको छ । जसमा पुरुष एक लाख ४७ हजार २८३, महिला एक लाख ५५ हजार ८०३ र अन्य एक जना छन् ।

निर्वाचन कार्यालयले असोजदेखि मतदाता नामावली संकलन गर्दै आएको छ । मतदाता नामावली संकलनको म्याद कात्तिक मसान्तसम्म रहे पनि निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिक कार्यमा देखिएको उत्साहजनक सहभागितालाई मध्यनजर गरी मतदाता नामावलीमा नाम दर्ता गर्ने म्याद बढाएर मङ्सिर ५ गतेसम्मका लागि थप गरेको छ । 

नामावलीमा नाम दर्ता गराउन राष्ट्रिय परिचयपत्र प्रयोग गरेर वा साविक प्रयोगमा रहेको प्रि-रजिष्ट्रेसन सिस्टममार्फत आवेदन गरी निर्वाचन कार्यालयमा जैविक विवरण (फोटो तथा औँठा छाप) दिएर सेवा लिन सकिने व्यवस्था गरिएको छ ।

जिल्लामा एक सय ३२ मतदातनस्थल रहेका छन् भने तीन सय ४६ मतदान केन्द्र छन् । मतदान स्थल र मतदान केन्द्र थप हुने सम्भावना भने नरहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भानबहादुर महराले बताए । “पुनरावलोकनका लागि समय अभाव छ, कृष्णपुर नगरपालिकाको वडा नं ५ र ८ मा रहेका दुई वटा मतदान स्थल भने सारिएको छ”, उनले भने ।

उनका अनुसार वडा नं ५ को नगरपालिका भवनमा रहेको मतदान स्थललाई कञ्चन बहुमुखी क्याम्पसमा र वडा नं ८ को स्वास्थ्य चौकी भवनमा रहेको मतदान स्थललाई विणा माध्यमिक विद्यालयमा सारिएको छ । “मतदान स्थल र केन्द्र सबैको पहुँचमा पुग्ने गरी राखिएको छ”, सूचना अधिकारी महराले भने, “सबै मतदान स्थल र केन्द्र अपांग, महिला र ज्येष्ठ नागरिकमैत्री बनाइने छन् ।”

ADV

सम्बन्धित खबर