
काठमाडौं : सशस्त्र प्रहरी बल, नेपाल र भारतको सशस्त्र सीमा बल (एसएसबी)बीचको द्विपक्षीय नवौं समन्वयात्मक बैठक सम्पन्न भएको छ ।
बैठक समापनपश्चात सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल शनिबार स्वदेश फर्किएका छन् । उनलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेललगायत वरिष्ठ अधिकृतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
सशस्त्र प्रहरीका तर्फबाट महानिरीक्षक राजु अर्याल र एसएसबीका महानिर्देशक संजय सिंघलले उक्त बैठकको नेतृत्व गरेका थिए ।
यही कात्तिक २६ देखि २८ गतेसम्म भारतको नयाँ दिल्लीमा आयोजित उक्त समन्वयात्मक बैठकमा सीमा अपराध, लागुऔषध ओसारपसार, चोरीनिकासी तथा पैठारी, अवैध आवतजावत नियन्त्रण, सूचना तथा तालिम आदानप्रदान, संयुक्त सीमा गस्ती र सीमा सुरक्षालाई थप सुरक्षित बनाउन समन्वय र सहकार्य गर्ने विषयमा दुई सुरक्षा निकायबीच छलफल गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
०८१ मंसिरमा काठमाडौंमा सम्पन्न भएको आठौं समन्वयात्मक बैठकबाट पारित एजेन्डाका विषयमा समेत त्यसक्रममा समीक्षा गरिएको थियो । बैठकबाट पारित साझा धारणालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने र अबको रणनीतिका विषयमा पनि छलफल गरिएको थापाले बताए ।
बैठकमा भाग लिन महानिरीक्षक अर्यालका साथमा सीमा सुरक्षा विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गणेशबहादुर ठाडामगर, प्रहरी नायब महानिरीक्षक दीपक रेग्मी, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक रामप्रसाद दास, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक किरण बस्नेत, गृह मन्त्रालयका उपसचिव रवीन्द्र आचार्य, परराष्ट्र मन्त्रालयका उपसचिव विजयराज तन्डुकार र सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज पौडेल कात्तिक २५ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।