
ललितपुर : ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले नगरपालिकाको काम नगरवासीलाई संरक्षण गर्ने र दिनचर्या झनै राम्रो बनाउने रहेको बताएका छन् ।
आइतबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले ललितपुर महानगरपालिकाको सबैभन्दा महत्वपूर्ण काम नगरवासीलाई कसरी संरक्षण गर्ने, कसरी उनीहरूको दिनचर्या राम्रो पार्ने र उनीहरूको इन्कम जेनेरेसनमा कसरी टेवा पुर्याउने ? भन्ने रहेको बताए ।
उनले जेनजी आन्दोलनका क्रममा ललितपुर महानगरपालिकाले दमकलको सेवा ललितपुर नगर क्षेत्रमा मात्रै नभइ काठमाडौं महानगरपालिकामा समेत दिएको बताए । सिंहदरबार, सर्वोच्च अदालत लगायतका स्थानहरूमा ७९ पटक दमकलको सेवा दिएको उनको भनाइ छ ।
उनले मन्त्रीक्वार्टर जलेर फोन आएपछि दमकल पठाएको तर आन्दोलनमा सहभागी भएकाहरूले बाधा सिर्जन गरेको बताए ।
प्रमुख महर्जनले नगरवासीका लागि गर्नुपर्ने आवश्यक कामहरू आफूहरूले क्रमशः पूरा गरिरहेको बताए । आगो निभाउन गएको दमकललाई समेत आन्दोलनकारीले आगो लगाएको उनले बताए ।
अब अत्याधुनिक दुई वटा दमकल खरिद गर्ने निर्णय समेत गरेको उनले बताए । उनले अपाङ्गता भएका व्यक्तिहरूका लागि खरिद गरेको गाडीमा समेत आगजनी भएकाले अब झनै अत्याधुनिक गाडी किन्ने बताए ।