२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

सीप सिकेर विदेश जाने क्रम बढ्दो

ADV
२०८१ साउन १० गते ०६:३५
सीप सिकेर विदेश जाने क्रम बढ्दो

काठमाडौं : पछिल्ला वर्षहरुमा सीप सिकेर वैदेशिक रोजगारीमा जाने क्रम बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार गत वर्ष वैदेशिक रोजगारमा नयाँ तथा पुनः श्रम स्वीकृति लिएका ७ लाख ४२ हजार २ सय ९७ जनामध्ये ५ लाख ९५ हजार ७ सय ५० जना कुनै न कुनै सीप सिकेर वैदेशिक रोजगारीमा गएका छन् । प्रतिशतका हिसाबले सीप लिएर जानेको संख्या ८० प्रतिशतभन्दा बढी हो ।

गत वर्ष कुनै पनि सीप नभएका अर्थात अदक्ष कामदारको संख्या १ लाख ४४ हजार ५ सय ५७ रहेकोे छ । उक्त संख्या प्रतिशतका हिसाबले २० प्रतिशतभन्दा कम हो । गत वर्ष ५ सय ३७ पुरुष र १ सय ९५ जना महिला गरी ७ सय ३२ जना उच्च दक्ष, २ हजार ४ सय ७ जना पुरुष र ३ सय ६५ महिला गरी २ हजार ७ सय ७२ जना व्यावसायिक दक्ष, ५३ हजार ४ सय ५७  पुरुष र ६ हजार ६ सय ६६ जना महिला गरी ६० हजार १ सय २३ जना सेमि स्किल्ड र ४ लाख ८१ हजार ८ सय ७० जना पुरुष र ५० हजार २ सय ५३ महिला गरी ५ लाख ३२ हजार १ सय २३ जना सीप सिकेका नेपाली वैदेशिक रोजगारमा गएका छन् ।

अदक्ष कामदारको हैसियतमा जानेमा १ लाख २२ हजार ८५ जना पुरुष र २२ हजार ६ सय ९३ महिला गरी १ लाख ४५ हजार ५ सय ४७ जना वैदेशिक रोजगारीमा गएका छन् । सरकारले सीप नभएका नेपालीलाई वैदेशिक रोजगारीमा नपठाउने नीति बनाउने बताउँदै आएको छ ।

हाल संस्थागतरुपमा नेपालले वैदेशिक रोजगारीका लागि १ सय १० देश खुला गरेको छ भने  व्यक्तिगत श्रम स्वीकृतिमा विश्वका १ सय ७२ मुलुकमा नेपालीहरु कामका लागि वैदेशिक  रोजगारीका लागि गएको पाइन्छ । वैदेशिक रोजगार खुला गरिएका मुलुकमध्ये दक्षिण कोरिया, इजरायलमा सरकारी सम्झौताअनुरुप कामदार गएका छन्  । जापानसँग पनि सरकारी स्तरबाट रोजगारीका लागि कामदार पठाउने श्रम सम्झौता गरिएको छ ।

खाडी र मलेसियाको तुलनामा दक्षिण कोरिया र इजरायल जाने कामदार बढी दक्ष मानिन्छन् । उनीहरुको मासिक तलब सुविधा पनि राम्रो रहेको छ । युरोपेली मुलुकमा नेपालीका हस्पिट्यालिटी, कन्स्ट्रक्सन, एग्रीकल्चर, नर्स, डक्टर, दक्ष इन्जिनियर, होटल म्यानेजर, घर बनाउने मेसन, कार्पेन्टर, टायल मेसन, कुक, किचेन हेल्परजस्ता काममा दक्ष नेपालीका लागि अवसर रहेकोे बताइन्छ । महिला कामदारका लागि क्लिनिङ, वेट्रेस, डाक्टर र नर्सलगायतका क्षेत्रमा माग रहेको छ ।

तर समयमा मागपत्र प्रमाणीकरण हुन नसकेका कारण राम्रो तलब सुविधा हुने युरोपेली मुलुकमा संस्थागतरुपमा नेपाली जाने क्रम लगभग शिथिलताको अवस्थामा रहेको वैदेशिक रोजगार व्यवसायीहरु बताउँछन् । यी देशहरुमा धेरै कामदार व्यक्तिगत श्रम स्वीकृतिमा गएका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise