२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

धरौटी तथा बैंक ग्यारेन्टीको प्रमाण पठाउन विभागको आग्रह

Nada
२०८२ कार्तिक १७ गते ०६:२५
Shares
धरौटी तथा बैंक ग्यारेन्टीको प्रमाण पठाउन विभागको आग्रह

काठमाडौं : वैदेशिक रोजगार विभागले भदौ २४ गतेको आगजनीमा जलेर नष्ट भएका धरौटी तथा बैंक ग्यारेन्टी रकमका अभिलेख अद्यावधिक गर्न आवश्यक प्रमाण पठाउन वैदेशिक रोजगार व्यवसायी र अन्य संस्थाहरूलाई आग्रह गरेको छ ।

ncell

विभागले वैदेशिक रोजगारसम्बन्धी व्यवसाय गर्ने म्यानपावर कम्पनीहरूका साथै उनीहरूको शाखा विस्तार, अभिमुखीकरण तालिम सञ्चालन, घरेलु कामदार पठाउने, न्यायिक धरौटीलगायत प्रयोजनका लागि धरौटी लिँदै आएको छ । उक्त रकम विभागले वैदेशिक रोजगार ऐन तथा नियमावली बमोजिम मुद्दती खातामा एकमुष्ट रूपमा जम्मा गर्ने गरेको छ ।

तर भदौ २४ गतेको आगजनीमा विभागका अभिलेख जलेर नष्ट भएपछि प्रत्येक म्यानपावर कम्पनीलगायतको धरौटीको छुट्टाछुट्टै विवरण नदेखिने भएको छ । विभागले कार्यालय जलेको विषयमा जिल्ला प्रहरी परिसर काठमाडौंले असोज २७ गते मुचुल्का तयार गरेको उल्लेख गर्दै त्यसको आधारमा समेत नष्ट भएका धरौटी अभिलेख अद्यावधिक गर्न वैदेशिक रोजगार व्यवसायी र अभिमुखीकरण संस्थालगायतसँग सम्बन्धित कागजात र प्रमाण उपलब्ध गराउन आग्रह गरेको हो ।

विभागले सम्बन्धित म्यानपावर कम्पनी वा अभिमुखीकरण तालिम प्रदायक संस्थाबाट धरौटी दाखिलाको भौचरको प्रमाणित प्रतिलिपि, बैंक ग्यारेन्टीको प्रमाणित प्रतिलिपि, धरौटीको यथार्थ विवरणसहितको स्वघोषणापत्र, आवश्यक परे बैंक स्टेटमेन्टको प्रतिलिपि, व्यक्तिगत धरौटीका हकमा भौचर र निवेदन, धरौटी प्रयोजन खुलेको पत्र तथा नागरिकताको प्रतिलिपि पेस गर्न भनेको छ ।

विभागमा वार्षिक तीन हजार जनासम्म कामदार पठाउने कम्पनीले ५० लाख रुपैयाँ नगद धरौटी र डेढ करोड रुपैयाँको बैंक ग्यारेन्टी, पाँच हजार जनासम्म कामदार पठाउने कम्पनीले एक करोड नगद धरौटी र तीन करोड रुपैयाँको बैंक ग्यारेन्टी तथा वार्षिक पाँच हजार जनाभन्दा बढी कामदार पठाउने कम्पनीले दुई करोड नगद धरौटी र चार करोड रुपैयाँको बैंक ग्यारेन्टी राखेका छन् ।

त्यस्तै, अभिमुखीकरण तालिम प्रदायक संस्थाले पाँच लाख रुपैयाँ र घरेलु कामदार पठाउन अनुमति लिएका म्यानपावर कम्पनीले थप २५ लाख रुपैयाँ धरौटी राखेका छन् । विभागले धरौटीका हकमा व्यवसायी स्वयं र बैंक दुवैबाट ‘क्रस–भेरिफिकेसन’ गरी फरक नपर्ने गरी अद्यावधिक गर्ने जनाएको छ ।

भदौ २४ गते विभागमा आगजनी हुँदा अनुगमन, लेखा, योजना–प्रशासन, राहत–उद्धार र अन्तिम स्वीकृति शाखा जलेका थिए । विभागका अनुसार म्यानपावर कम्पनीका एक हजार सात सयभन्दा बढी फाइलहरू जलेका छन् । ती फाइलहरूसँगै धरौटी अभिलेख, म्यानपावर कम्पनीविरुद्धका विगतका उजुरी तथा मुद्दाका विवरण पनि नष्ट भएका छन् । 

त्यस्तै, कर्मचारी सरुवा–बढुवासम्बन्धी फाइलहरू समेत जलेका थिए । विभागले कर्मचारीलाई आफ्ना कागजातको प्रतिलिपि ल्याउन लगाएर प्रशासनिक फाइलहरू पुनः सिर्जना गरेको जनाएको छ । विभागको अनलाइन प्रणाली भने सुरक्षित रहेको छ ।

सम्बन्धित खबर