२०८२ मंसिर ५ गते शुक्रवार / Nov 21 , 2025 , Friday
२०८२ मंसिर ५ गते शुक्रवार
Ads

अझै बनेन संसद् भवन, ६ वर्षमा छैटौंपटक म्याद थप्ने तयारी

shivam cement
दिवाकर अधिकारी
२०८२ मंसिर ५ गते ०६:३५
Shares
अझै बनेन संसद् भवन, ६ वर्षमा छैटौंपटक म्याद थप्ने तयारी

काठमाडौं : नेपालको विकास निर्माणको गति र स्थिति कस्तो छ भनेर देखाइरहेको एउटा ज्वलन्त उदाहरण हो– सिंहदरबारस्थित संसद् भवन । संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार १ सय ५७ रोपनी क्षेत्रफलमा फैलिएको संसद् भवन निर्माणको ठेक्का पाँचपटक थपिइसकेको छ । थपिएको म्यादअनुसार आगामी पुस १६ गतेभित्र काम सक्नुपर्नेछ । 

तर फेरि पनि थपिएको समयमा काम हुँदैन भन्नेमा संसदकै पदाधिकारी छन् । ‘कामको गति हेर्दा अझ बढाउनुपर्ने देखियो । बिहीबार निर्माणाधीन संसद् भवनको अवलोकनपछि सभामुख घिमिरेले भने । 

सभामुख घिमिरेसहित राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, संघीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेलगायतले निर्माणाधीन संसद् भवनको अवलोकन गरेका हुन् । अवलोकनपछि राष्ट्रिय सभाका अध्यक्ष दाहालले भने, ‘आगामी चैत/वैशाखसम्म काम सकिनेतिर पुग्छ कि !’

अर्थात् सम्झौताअनुसार आगामी १६ पुसभित्र भवन बनिसक्नेमा संघीय संसद्का पदाधिकारी विश्वस्त छैनन् । संसद् भवन निर्माणको जिम्मा विशेष भवन आयोजनाले लिएको छ । भवन निर्माणको ठेक्का तुन्दी–सेक जेभीले पाएको छ । 

संसद् सचिवालयको अभिलेखअनुसार नयाँ संसद् भवनको शिलान्यास १ असोज २०७६ मा भएको हो । त्यसको १६ दिनपछि ठेकेदारसँग ६ अर्ब ९२ करोड रुपैयाँमा सम्झौता भएको थियो । सम्झौताअनुसार काम नसकिएपछि पहिलोपटक ३० चैत २०७९ सम्म म्याद थपिएको थियो । फेरि पनि काम सकिएन । १ वैशाख २०८० बाट १९ चैत २०८० सम्म समय काम सक्नेगरी दोस्रोपटक म्याद थप भयो । फेरि पनि प्रगति भएन । २० असोज २०८० देखि १९ चैत २०८० सम्म काम सक्नेगरी तेस्रोपटक म्याद थप भयो । फेरि पनि काम नसकिएपछि चौथोपटक १८ चैत २०८१ सम्मका लागि म्याद थपिएको थियो र पाँचौंपटक गत १२ असारमा ६ महिनाका लागि म्याद थप गरिएको हो ।

हालसम्मको प्रगति ८७ प्रतिशत बढी छ । पाँच तलाका अग्ला भवन भने बनिसकेका छन् । 

२०६४ सालदेखि संघीय संसद्को बैठक नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्दै आएको थियो । सो भवन जलेपछि हाल संसद् बैठक बस्न भवनसमेत छैन । प्रतिनिधि सभा विघटनको अवस्थामा छ । राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारी छ । यस्तो अवस्थामा नयाँ संसद् भवनको अवलोकन गर्न संसद्का पदाधिकारी पुगेका हुन् । 

अवलोकनपछि राष्ट्रिय सभाका अध्यक्ष दाहालले सिंहदरबारस्थित अर्को कुनै हलमा सभाको अधिवेशन बोलाउने तयारी भएको जानकारी दिए । उनका अनुसार यसअघि कृषि तथा प्राकृतिक स्रोत समितिले प्रयोग गर्दै आएको हलमा राष्ट्रिय सभाको बैठक बोलाउने तयारी छ । नयाँ भवन बनेपछि भने संसद् बैठक सोही भवनमा बस्नेछ । 

ADV

सम्बन्धित खबर